मलेसियाको रोजगारी खुल्यो, कहिले देखि जान पाउने ?

जागृति खबर संवाददाता

काठमाडौं ।

नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी कार्यान्यवन हुने भएको छ ।

नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौता (एमओयु) अनुसार अब नेपाली युवाहरु पुनः वैदेशिक रोजगारीमा मलेसिया जान पाउने भएका हुन् ।

अघिल्लो वर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानून न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोली गत सोमबार मलेसिया गएको थियो ।

मलेसियाको क्वालम्पुरमा ३ दिनदेखि चलेको दुबै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीमा श्रमिक आपूर्ति गर्ने सम्झौता भएको हो । नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिक १२ गते श्रम सम्झौता भएको थियो ।

‘नया समझदारी अनुसार कामदार लैजाने विषयमा मलेसिया सरकारसँग सहमति भएको छ’ नेपालका तर्फबाट बैठकको प्रतिनिधि श्रम मन्त्रालयका सहसचिव घिमिरेले बताए ।

तीन दिनसम्म चलेको बैठक बिहिबार टुंगो लागेको हो । नयाँ श्रम सम्झौता प्रभावकारी भएमा एक साताभित्रमा नै एमओयुको नयाँ प्रावधानअनुसार नेपालीहरु मलेसिया वैदेशीक रोजगारीमा जान पाउनेछन् ।

रोजगारीका लागि मलोसिया जाने नेपाली कामदारले कुनैपनि शुल्क तिर्नु पर्दैन् । सम्पूर्ण लागत मलेसिया सरकारले नै बेहोर्ने छ ।
मलेसियन सरकारसँग नेपालले १ वर्ष अगाडि नै श्रम सम्झौता गरिसकेको भएता पनि स्वास्थ्य परीक्षणको विषयले गर्दा रोजगारीमा युवाहरु मलेसिया जान पाएका थिएनन् ।

मलेसियन सरकारले नेपालबाट रोजगारीका लागि स्वास्थ्य परीक्षण गरी मलेसिया पठाउने संस्थाहरुको मापदण्ड पठाए पश्चात यो सहज भएको हो ।

हाल मलेसियन सरकाररले मापदण्ड तोकेर १ सय २२ वटा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुको नामावली पठाएको छ ।