अब नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी

जागृति खबर संवाददाता

काठमाडाैं ।

नेपाली राजदूतावास, मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएकाे छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएकाे हाे ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको छ ।

राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इन्‍रोल्मेन्ट गरेका छन् ।

राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेकाे दूतावासले जनाएकाे छ ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट भाग लिएका राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताए ।

जापानबाट आयो लाखौं नेपाली खुसी पार्ने खबर, अब जापानले..

जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ ।

यद्यपि पर्यटकका लागि भने अझै पनि रोक लगाइने प्रधानमन्त्री फुमिओ किशिदाले बिहीबार बताएका छन ।

यो कदम व्यापारिक समुदाय र शिक्षाविद्हरूबाट जापानलाई सीमा प्रतिबन्ध खुकुलो पार्न बढ्दो दबाबपछि चालिएको हो ।

जी–७ राष्ट्रहरूले कोभिड नियन्त्रणका लागि प्रतिबन्धहरूलाई तत्काल हटाइहाल्न नहुने बताइरहेका समय भएको निर्णयलाई जापानी नागरिकबाट व्यापक समर्थन मिल्ने देखिएको छ ।

जापानले यस महामारीको प्रारम्भिक दिनदेखि नै पर्यटकहरूलाई रोकेको छ । कतिपय अवस्थामा जापानमा बसोबास गर्दै आएका विदेशी बासिन्दाहरूलाई समेत देशभित्र प्रवेश गर्नबाट रोक लगाउँदै आइएको छ ।

गत नोभेम्बरमा, सरकारले केही विद्यार्थी तथा व्यापारीहरूलाई प्रवेश गर्न अनुमति दिनका लागि नियमहरूलाई सामान्य खुकुलो पारेको थियो तर कोरोना भाइरसको नयाँ विकसित ओमिक्रोन नामक भेरिएन्टका कारण तत्काल यस योजनालाई उल्ट्याएको थियो ।

विशेषज्ञहरूको भनाइअनुसार ओमिक्रोनका कारण संक्रमितहरूको सङ्ख्या उच्च बनेपछि जापानमा अहिले स्वास्थ्य संस्थाहरूमा विरामीहरूको चाप बढेको छ ।
पर्यटनका लागि आउनेबाहेक नयाँ आगन्तुकलाई मार्च १ देखि प्रवेश अनुमति दिने किशिदाले बताए । अहिले तीन हजार ५०० देखि पाँच हजारसम्म दैनिक प्रवेशाज्ञा दिइने उनले बताए ।

आप्रवासनमामिला हेर्ने एक निकायका अधिकारीले एएफपीलाई बताएअनुसार जापानले जनवरी ४ सम्ममा आफ्नो मुलुकमा प्रवेश गर्न पर्खिरहेका चार लाखभन्दा बढी विदेशीहरूको प्रवेशाज्ञाका लागि अनुमति दिइसकेको छ ।