३ फाल्गुन, काठमाडौं ।
मोबाइल वालेट, एयरलाइन्सका एप वा साइटबाट बुकिङ गरेपछि टिकट एसएमएस वा इमेल आउँछ। विमानस्थल सुरक्षा जाँचमा मोबाइलमा नम्बर वा टिकट देखायो, भित्र पस्न सजिलो थियो। टिकटै बोक्नु परोस् न त प्रिन्टकै झमेला। आनन्द मानिरहेकाहरुका लागि खबर राम्रो छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा अब प्रिन्टेड टिकटै देखाउनु पर्ने भएको छ।
‘सुरक्षाका कारण’ भन्दै विमानस्थल प्रहरीले डिजिटल टिकटको सुविधामा रोक लगाएको हो। डिजिटल टिकट प्रवेश पाइरहेका हवाई सेवाका यात्रुले अब प्रिन्ट गराएर कागजै बोक्नु पर्नेछ।
विमानस्थलको सुरक्षा मजबुत गराउने उद्देश्यले मंगलबारबाट लागू हुने गरी यात्रुलाई प्रिन्टेड टिकट अनिवार्य गरिएको नेपाल प्रहरीका एसएसपी भीम ढकालले बताए। ढकाल करिब एक महिनाअघि सरुवा भएर विमानस्थलमा आएका हुन्। हवाई सेवा कर्मचारीहरुले भने उनले आफ्नो उपस्थिति देखाउने निहुँमा यात्रुलाई असुविधा हुने नियम लगाउन बल गरेको आरोप लगाएका छन्।
अब जति हतार भए पनि अब यात्रुले प्रिन्ट गराएको टिकट साथमा बोक्नु पर्नेछ। ड्युटीमा खटाइएका प्रहरीले प्रवेशद्वारमा राम्रो काम नगरेको झमेला सुरक्षाको कारण देखाइ यात्रुको टाउकोमा थोपरिएको हो।
‘डिजिटल टिकटलाई मान्यता नदिने भन्दा पनि टिकट हेर्न सजिलो होस् भनेर यो नियम लागू गरेका हौं,’ एसएसपी ढकालले प्रष्टीकरण दिँदै भने, सेक्युरिटी चेक हुने ठाउँमा यसो फोन देखाएर कुदिहाल्ने देखियो। फोन एकै आकारको हुँदैन। प्रष्ट नबुझिने हुँदा वायुसेवा कम्पनीहरु र प्राधिकरणसँगको छलफलमा यो निर्णय गरिएको हो।’
टिकट लिएका यात्रुले प्रिन्ट गर्नै झन्झट मान्दा विमानस्थलको सुरक्षा कमजोर हुने उनले दाबी गरे। सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाउनका लागि प्रिन्ट टिकट नै उचित रहेको उनले बताए।
‘सुरक्षालाई गाह्रो भन्नुभएन नि। भिडभाड भयो भन्दैमा हुलका हुल छोड्न पनि मिल्दैन। कतिपय मान्छे पास पनि छैन, टिकट पनि छैन अनि मोबाइल देखाएर भित्र छिरेको पाइएपछि यो नियम लागू गरिएको हो। अनावश्यक मान्छेलाई विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पस्नु सुरक्षा दृष्टिकोणले राम्रो होइन,’ उनले भने।
यात्रुले वायुसेवा कम्पनीले दिएको समयमा नै विमानस्थल आइपुगेको अवस्थामा यो झन्झट नरहने उनले बताए।
यो निर्णयप्रति भने बुद्ध, यती, श्री, सौर्य, गुण लगायत नियमित उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले भने यात्रुलाई असुविधा हुने भन्दै आपत्ति जनाएका छन्।
प्रविधिमैत्री युगमा पुनः प्रिन्टेड टिकट अनिवार्य गराउँदा भिडभाड झन् बढ्ने र यात्रुलाई झनझट हुने वायुसेवा कम्पनीले जनाएका छन्। पछिल्लो समय विमानस्थलमा कार्यरत कर्मचारीलाई पनि ‘मेटल फ्री’ भएर आउजाउ गर्ने नियम लागू गरिएको जनाइएको छ।
‘अधिकांश यात्रुले वेबसाइटबाटै टिकट काटेर स्मार्ट फोनमा टिकट लिएर आएको हुन्छ। अहिलेको प्रविधि युगमा यस्तो नियम लागू गर्नु उचित देखिएको छैन,’ एक वायुसेवा कम्पनीका कर्मचारीले भने, ‘यो नियम प्रविधिको युगलाई ढुंगे युगमा फर्काउने नियत हो।’ हवाई सेवा प्रयोगकर्ता आफैंमा सुरक्षाप्रति संवेदनशील हुने भएकाले लाइन लागेर प्रवेश गरिरहेका हुन्छन्। यस्तोमा प्रिन्ट टिकट अनिवार्य गर्नुको साटो सहजीकरण गर्ने अन्य उपाय खोज्नुपर्ने उनले बताए। -वसन्तराज उप्रेती/बिजमाण्डू