माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

जागृति खबर संवाददाता

२६ पुस, काठमाडौं ।

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) शिक्षा मन्त्रालयमा बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोरोना सङ्क्रमण बढ्दै गएपछि शिक्षा मन्त्रालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द सिफारिस गरेको थियो । उक्त सिफारिससबारे आज छलफल भएको थियो ।

सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । आइतबार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

त्यस्तै सीसीएमसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न भनेको छ । यस्तै बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।