काठमाडौंबासीलाई दुखको खबर, भर्खरै भयो यस्तो निर्णय !

जागृति खबर संवाददाता

२६ पुस, काठमाडौं ।

पछिल्लो केहि दिनयता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११६७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्यामध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकाका रहेका छन् । यस अवधिका काठमाडौं उपत्यकामा ६१५ जना थपिएका छन् । जसमध्ये काठमाडौंमा ४९१, भक्तपुरमा २५, ललितपुरमा ९९ जना रहेका छन् ।

तथ्यांक हेर्दा काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने सम्भावना रहेको देखिन्छ । कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।

यसैबिच, सरकारले मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरिएको प्रवक्ता सुनिता नेपालले जानकारी गराएकी छन् । उनले भनेकी छन्, ‘यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।

प्रवक्ता अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरिएको छ । त्यसोत, पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । आज एकै दिनमा मुलुकभर १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यविद्हरुले, कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुन लागेको चेतावनीका बीच राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुले काठमाडौँ सहित देशभर सामूहिक भेला हुने प्रकारका कार्यक्रमहरू गरिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही पुस २३ गते एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट २४ जना सङ्क्रमित भएको जनाएको थियो ।

मन्त्रालयले यो सङ्ख्या जानकारी गराए पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढिरहेको प्रा.डा. जागेश्वर गौतमले बताए । उनले भने– ‘स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन देखिएको बताएको छ, त्यो सङ्ख्या धेरै बढिसक्यो होला । सहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो सङ्ख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौँमा पोजेटिभ आउन सक्छ । काठमाडौँमा यति बाक्लो र ठुलो जनसङ्ख्या छ, चाँडै धेरै जनसङ्ख्यामा सङ्क्रमण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा सङ्क्रमितहरू थपिन थालेका छन् । आईसीयूमा भर्ना हुनेको सङ्ख्या बढेको छ । लक्षण भएका सङ्क्रमितहरूको सङ्ख्या पनि बढिरहेको छ ।

मन्त्रालयले विश्वव्यापी रूपमा तथा नेपालमा हालसम्मको तथ्याङ्कहरूलाई आधार मान्दा नेपालमा पनि ओमिक्रोनको कारणले अत्यधिक मात्रामा कोभिड–१९ को केशहरू बढ्न सक्ने सम्भावना भएकोले सबैलाई सचेत रहन आग्रह गरेको थियो । साथै मन्त्रालयले काठमाडौँ उपत्यका भित्र रहेका अस्पतालहरूलाई तयारी अवस्थामा बस्न र सतर्क रहन आग्रह समेत गरेको थियो ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणदर बढ्न सुरु गर्ने बेलामा विशेष ध्यान नपुर्‍याउने हो भने ह्वात्तै सङ्क्रमितहरूको सङ्ख्या बढ्ने बताए । उनले भने–‘सुरुमै सचेत हुन हामीले पहिलेदेखि नै भन्दै आएको हो । यसअघि पनि कोरोनाको डेल्टा भेरियन्ट घुमिरहेको नै थियो । ओमिक्रोन भेरियन्ट बिजुली गतिमा फैलिने क्षमता भएको भेरियन्ट हो । यसको कडापन अघिल्लो भेरियन्ट भन्दा कम नै भन्ने छ । जसले भ्याक्सिन लगाउन पाउनुभएको छैन वा जसलाई पहिले सङ्क्रमण भएको छैन, उहाँहरूलाई अहिले पनि जोखिम छ ।