प्रधानमन्त्री देउवा आइसोलेशनमा, भाेलि काेराेना परीक्षण गरिने !

जागृति खबर संवाददाता

२४ पुस, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन
नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्वाचित हुनुभएको छ । एमालेको १३औँ जिल्ला अधिवेशनले अध्यक्षमा बस्नेतसहित १२१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी तीनवर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको एमाले दाङले जनाएको छ । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुनः निर्वाचित हुनुभएको छ । सचिव बुढाथोकी र उपसचिव भुसालबाहेक अन्य पदमा नयाँ अनुहार आएको बताइएको छ । दाङका १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ सदस्य पदमा नेतृत्व चयन गरिएको छ ।

समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपाङ्गता, महिला, पिछडिएको वर्ग अल्पसङ्ख्यकबाट ३० सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ गरी जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

कूल १३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जनापछि मनोनित गरिने भएको छ । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।