मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढाउने तयारीमा छौं !

जागृति खबर संवाददाता

काठमाडौं ।

श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगिरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

मलेसिया सरकारसँग अहिले छलफल भइरहेको जानकारी दिँदै मन्त्री विष्टले अन्य देशमा जस्तै मलेसिया सरकारसँग पनि श्रम सम्झौताको प्रक्रिया सरकारले अघि बढाइरहेको उनले बताए ।

नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको बताउँदै मन्त्री विष्टले विदेश जानुको साटो देशमै काम गर्ने वातावरण बनाउन सरकार लागिपरेको बताए ।

तर, सरकारले कतिपय राम्रो काम गर्न खोज्दा केही शक्ति र व्यक्तिहरुलाई औडाहा भएको भन्दै मन्त्री विष्टले त्यस्ता विरोधबाट सरकार विचलित नहुने बताए ।
यसै सन्दर्भमा वैदेशिक रोजगारी एवं नेपाली युवाहरुको समस्याका विषयमा अनलाइनखबरले मन्त्री विष्टसँग गरेको कुराकानीः

यसअघि ऊर्जामन्त्री हुँदा ‘सफल’ मन्त्रीका रुपमा परिचय बनाउनुभएको थियो, यसपटक विकृतिको चाङ रहेको श्रम मन्त्रालय सम्हाल्न आइपुग्नुभयो । तर, तपाईंले अपेक्षा गरेअनुरुप काम गर्न सक्नुभएन भन्ने छ नि ?

यो मन्त्रालयमा लामो सयमदेखिका जटिल समस्याहरु छन् । केही एकल निर्णयका आधारमा मात्रै समाधान नहुने प्रकृतिका समस्या छन् । गृहमन्त्रालय, परराष्ट्र मन्त्रालयसहित विदेशीहरुसँग जोडिएका खासगरी अरु देशसँग जोडिएका विषयहरु छन् । यही बीचमा पनि हामीले केही सुधारका प्रक्रियाहरु अघि बढाएका छौं ।

खासगरी श्रमिकको न्यूनतम बेतन वृद्धि गर्ने, उनीहरुको पारिश्रमिकलाई बैंक खाताबाट भुक्तानी गराउन प्रक्रिया अघि बढाउने सन्दर्भहरु छन् । त्यस्तै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एउटा अभियानका रुपमा अघि बढाउने सन्दर्भहरु छन् । नेपालको आन्तरिक श्रम बजारमा रोजगारीको खोजी र विस्तार गर्ने अनि नेपालको श्रम सीपलाई अधिकतम् प्रयोग गर्नका लागि रोजगारकेन्द्रित कार्यक्रमहरु अघि बढाउने सन्दर्भहरु छन् ।

लाखौं नेपाली युवाले नेपालभित्रै रोजगारी प्राप्त गर्ने गरी कार्यक्रम हामीले डिजाइन गरिरहेका छौं । हामी एकातिर यस्ता आन्तरिक तयारीमा छौं भने बालश्रम निवारणका लागि गुरुयोजना करिब टुंगो लगाएका छौं ।

झट्ट हेर्दा वैदेशिक रोजगारीमा विकृतिहरु छन् । तर, हामीले एकैपटक यसको समाधान खोज्न सक्दा रहेनछौं ।

दर्जनौं वर्षको विकृतिको चाङलाई एकाएक हटाउन सम्भव नहुँदो रहेछ । तर, पनि सरकार यस्ता समस्या सफाइको अभियानमा छ ।

मलेसिया जाने कामदारमाथि अधिक रकम असुल गर्ने गरी कायम गरिएको सिन्डिकेटको हकमा तपाईहरुले कठोर कदम चाल्नुभयो । तपाईंको यो काम सही नियतबाटै भए पनि प्रक्रियाचाँहि गलत भयो भनेर प्रश्न उठेका छन् नि ? हठात निर्णयका कारण दोषीहरु अदालतबाट पनि सजिलै उम्किए भन्ने पनि छ…

हामीले कानुन हेर्‍याैं । नेपालको कुनै पनि कानुनले श्रमिकबाट गैरकानुनी रुपमा यसप्रकारले पैसा उठाउने अनुमति दिएको छैन । दुई देशको बीचमा कहीँ सहमति गरेको देखिँदैन । वैदेशिक रोजगार ऐनअन्तरगत पनि यो काम भएको छैन ।