चाउचाउको कार्टुनभित्र ५० लाख : सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ !

जागृति खबर संवाददाता

१९ पुस, काठमाडौं ।

सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको ५० लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले सो रकम लिन आएको अवस्थामा सौर्य एयरलाइन्समै कार्यरत रेशा शाक्य पोखरेललाई पक्राउ गरेको हो ।

शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाडौं आएको सो विमानमा रहेको रातो रङको ब्याग चेकजाँच गर्दा लुकाइछिपाइ राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेलापरेको प्रहरीले जनाएको छ । रकमको स्रोत खुलेको छैन ।

प्रहरीका अनुसार सोही रकम संकलन गर्नका लागि आएकी सौर्य एयरलाइन्स काठमाडौंमा असिसटेन्टको रूपमा कार्यरत पोखरेललाई समेत पक्राउ गरिएको हो । थप कारबाही र अनुसन्धानका लागि पोखरेलसमेतलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गर्नुभयो ।

उहाँले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली कम्युनिष्ट हो भनेर । ”

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्कमत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।