आज मात्रै एकैदिन विश्वभर ४ हजार ४०० उडान रद्द !

जागृति खबर संवाददाता

१९ पुस, काठमाडौं ।

शनिबार विश्वभर झन्डै ४ हजार ४०० हवाई उडानहरू रद्द भएका छन् । तीमध्ये २ हजार ५०० भन्दा धेरै उडान रद्द संयुक्त राज्य अमेरिकामा मात्रै भएका छन् । कोरोनाभाइरस त्रास र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले नयाँ कीर्तिमान राखेको हो ।

एअर ट्राफिक साइट फ्लाइटअवेरका अनुसार अमेरिकामा रद्द भएकामध्ये १ हजारभन्दा धेरै उडानहरू सिकागोको ओहेर र मिडवे विमानस्थलबाट हुने उडानहरु थिए । वायुसेवाका धेरै कर्मचारीहरु कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारेन्टाइनमा बसिरहेका कारण समेत समस्या झन् थपिएको बताइएको छ ।
यही संकटमा प्रतिकुल मासमले थप समस्या सृजना गरेको हो । मध्य अमेरिकामा भएको हिमपातले उडान रद्द र अर्को सास्ती थपेको थियो ।

युनाइटेड एअरलायन्सले एक विज्ञप्ति जारी गर्दै शनिबारका उडान रद्द कोरोनाको ओमिक्रोन भेरियन्टले कर्मचारीहरुमा पारेको असर र मौसमसँग जोडिएका कारण भएको बताएको छ ।

आइतबार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कंने दिन थियो । तर उडान रद्द हुँदा यात्रुहरु अलपत्र परेको बताइएको छ । डिसेम्बर २४ यता अमेरिकामा मात्रै १२ हजार उडानहरू रद्द भएका छन् ।

लकडाउनले जुराएको व्यावसायिक कालिजपालन

लकडाउनको समस्यामा पर्नुभएका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रुपमा कालिज पाल्न थाल्नुभएको छ ।

बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गर्नुभएको हो । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थाल्नुभएको हो ।

काठमाडौँमा बेकरी पसल सञ्चालन गर्नुभएका श्रेष्ठले कोरोनाको सङ्क्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरुआत गर्नुभएको हो । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति चल्ला रु आठ सयका दरले खरिद गरी दुई हजार चल्ला व्यवसाय सुरुआत गर्नुभएका श्रेष्ठले अहिले धमाधम बिक्री गर्न थाल्नुभएको छ ।

साना चल्ला हुँदा जोगाउँन कठिनाई भयो । केही चल्ला मरेको पनि उहाँले सुनाउनुभयो, “केही बिक्री गरेर पनि अझै एक हजार ४०० कालिज फार्ममा रहेका छन् ।” भाले बिक्री गरिए पनि पोथी अण्डाको लागि राख्ने गरिएको छ । अहिले फार्ममा एक दिने चल्लादेखि एक महिनासम्मका कालिजको चल्ला रहेको छ । प्रति चल्ला रु ४०० देखि ५०० सम्म बिक्री हुन्छ ।

कालिज पाल्ने किसानको लागि आवश्यक तालिमको पनि व्यवस्था रहेको श्रेष्ठले बताउनुभयो । बस्ने घर, कम्पाउण्ड तारबार र फार्मसम्म जाने सडक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्दा करिब रु डेढ करोड लगानी भएको श्रेष्ठ बताउनुहुन्छ । करिब डेढ किलोको कालिज प्रति गोटा रु तीन हजारमा बिक्री गर्ने गरिएको छ ।