कलिङ भिसा केही दिनमै मलेशिया रोजगारीको प्रक्रिया शुरु !

जागृति खबर संवाददाता

काठमाडौं ।

नेपाली नागरिकलाई रोजगारका विषयमा नेपाल र मलेशिया सरकारबीच केही महिना पहिले भएको सम्झौता अब बल्ल कार्यान्वयन हुन लागेको अधिकारीहरूले बताएका छन्।

मलेशियाले सरकारी स्वास्थ्य संस्थाहरूले पनि स्वास्थ्य परीक्षण गर्न पाउने गरी मापदण्ड पठाएपछि अब स्वास्थ्य संस्थाहरूलाई सूचीकृत हुनका लागि आह्वान गर्न लागिएको उनीहरूको भनाइ छ।

यी प्रक्रियाका लागि एक महिना लाग्ने देखिए पनि पहिले नै भिसा आइसकेकाहरूको भने केही दिनमै प्रक्रिया शुरू हुने बताइएको छ।

वैदेशिक रोजगारीका लागि नेपालीहरू जाने गन्तव्यमा मलेशिया पहिलो नम्बरमा पर्छ। तर प्रक्रियामा सिन्डिकेट भएको र नेपालीले धेरै रकम तिर्नु परेको भन्दै नेपाल सरकारले रोक लगाएको झन्डै १० महिना भएको छ।

त्यसयता कामदार पठाउने विषयमा नेपाल र मलेशिया सरकारबीच श्रम सम्झौता भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन।

स्वास्थ्य परीक्षण मापदण्ड
मलेशियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि अब बल्ल काम अगाडि बढेको नेपाली अधिकारीहरूले बताएका छन्। अब सरकारी अस्पतालहरू पनि उक्त मापदण्ड अनुरूप सूचीकृत हुने र त्यसका लागि केही दिनमै सूचना निकालिने बताइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले भने, “अब हामीले सबैलाई खुल्ला गर्छौं। मलेशिया सरकारबाट आएको मापदण्ड अनुकूल स्वास्थ्य परीक्षण गर्न सक्ने संस्थाहरूले आवेदन दिनुहोस् भनेर आह्वान गर्छौं।

त्यस्ता आवेदनमा डाक्टरहरूको विज्ञ समितिले सिफारिस गरेपछि सूचीकृत गर्ने काम सकिन्छ। समय चाहिँ केही लाग्छ तर त्यसको प्रक्रिया अगाडि बढेको छ।”

स्वास्थ्य संस्था सूचीकृत हुनका लागि नियमावलीमा रहेको ३० दिनको समयलाई छोट्याएर १० दिनमा झारिएको र अब सबै प्रक्रिया सकिन एक महिना जति लाग्ने उनको भनाइ छ।