भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !

जागृति खबर संवाददाता

१६ पुस, काठमाडौं ।

नेपालबाट अवैध रुपमा दुबई पुगेका हजारौँ नेपालीको विचल्ली भएको छ । भिजिट भिषाको नाममा दलालहरुले हजारौँ नेपालीलाई दुबई पुर्याएर अलपत्र पार्ने कार्य बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ४० हजार नेपालीहरु भिजिट भिषामा दुबई पुगेका छन् त्यसमध्ये ३० हजार नेपालीको विचल्ली भएको छ ।

दलालहरुले आकर्षक तलब र जागिर मिलाइदिन्छु भन्दै नेपालीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म असुलेर भिजिट भिषामा युएई पुर्याएका हुन् । विमानस्थलमा कर्मचारी र दलालको सेटिङमा दुबई पुगेका हजारौँ युवा मध्ये केही युवाहरु दियोपोस्ट डटकमको सम्पर्कमा आएका छन् ।

नेपाली सेनाको जागिर छाडेर भिजिट भिषामा दुबई पुगेका उनीहरुलाई दलालहरुले दुबई आर्मीमा काम लगाइदिन्छु भन्दै त्यहाँ पुर्याएपछि बन्धक बनाएर राखेको दुबईबाटै सम्पर्कमा आएका ती युवाले दियोपोस्टसँग बताए ।

दुबईमै कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीजले नेपालबाट अवैध रुपमा भिजिट भिषामा सयौँ युवाहरुलाई दुवई लिएर गएको खुलेको छ । उक्त कम्पनिले आर्म्स गार्डमा जागिर खुलेको छ भन्दै भ्याकेन्सी प्रचार गरेको थियो । उक्त सुचना अनुसार नेपाली सेनामा कार्यरत रहेका नेपालीलाई मात्रै जागिरमा लगाइने उल्लेख थियो । ३ हजारको संख्यामा नेपाली सेनाका कर्मचारीहरु मागेको भन्दै निकालिएको भ्याकेन्सी नोटिसमा प्रतिव्यक्ति ३ हजार अमेरिकन डलर तलब हुने आश्वासन बाँढिएको थियो । तर, सोही आश्वासनको भरोषामा नेपाली सेनाको जागिर छाडेर भिजिट भिषामा दुबई पुगेका २ सय जना नेपाली सेना यतिबेला विचल्लीमा परेका हुन् ।

‘हाम्रो पासपोर्ट कब्जा गरेर राखिएको छ । भिषाको म्याद थप्न पनि पैसा लाग्ने रहेछ । भिषाको म्याद पनि सकिएको छ । तर, कम्पनिले जागिर लगाउन सकेको छैन । हामी विचल्लीमा परेका छौँ,’ दुबईस्थित ती नेपालीले भने,‘उता जागिर छाडेर यता आइयो । यहाँ आएपछि विचल्ली भयो । भिजिट भिषामा दलालहरुलाई ३ लाख रुपैयाँ बुझाएर यहाँ आयौँ ।’

को हुन् दलाल ?

भिजिट भिषामा नेपालीहरुलाई दुबई पुर्याएर काम लगाउँछु भन्दै विचल्ली बनाउने प्रमुख दलाल हुन्–कोमलराज उपाध्याय । उनी त्रिनेत्र कन्सल्टेन्सीजका मालिक समेत हुन् ।

उनकै कम्पनिले भिजिट भिषामा दुबई पुर्याएका नेपाली सेनाका जवानहरुको विचल्ली भएपछि उनीहरुसँग दलाल उपाध्ययले कागज गरेका छन् । दियोपोस्टले फेला पारेको उक्त कागजातमा उनले गत नोभेम्बर २७ मा एक हप्ता भित्र काम लगाइदिने प्रतिबद्धता गरेका थिए । तर, डिसेम्बर ३० हुँदा समेत काम नलगाएपछि विचल्लीमा परेका युवाहरुले आफूहरुको उद्दार गरिदिन आग्रह गरेका छन् ।

नेपालबाट भिजिट भिषामा दुबई लाने चाँजो पाँजो भने सन्तोष सुवेदी र राजन शाह ठकुरीले मिलाएका थिए । उनीहरुले नै सेनाका जवानहरुबाट ३ लाखदेखि ४ लाखसम्म असुली गरेका थिए ।

कर्मचारीको मिलेमतोमा एयरपोर्ट सेटिङ !

वास्तविक रुपमा दुबई घुम्न जाने पर्यटकको हुलिया कस्तो हुन्छ भन्ने जानकारी विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई नहुने होइन । नेपालबाट रोजगारीकै शिलशिलामा भिजिट भिषामा दुबई जानेहरुले लगाउने कपडा र वास्तवीक पर्यटन भिषामा जानेहरुले लगाउने कपडा समेत फरक हुने भएपनि विमानस्थलस्थित अध्यागमनका कर्मचारीले भिजिट भिषामै दुबई जानेका लागि रोक लगाएको देखिन्छ ।

तर, रोजगारीको लागि भिजिट भिषामा जाने नेपालीहरुलाई भने खुलमखुल्ला प्रवेश गराइरहेको विमानस्थल सुत्रले दियोपोस्टलाई जानकारी दियो ।

‘जो वास्तविक रुपमा भिजिट भिषामा दुबई जान चाहेका छन् त्यस्ताका लागि विभिन्न उल्झन हुने गरेको छ । अध्यागमनका कर्मचारीले केहीदिन अघि एउटा सहकारीको नाममा टुर प्याकेज किनेर घुम्न जान लागेकालाई फर्कायो नै । तर, जो रोजगारीको लागि भिजिट भिषाको प्रयोग गरेर गइरहेका छन् त्यस्तालाई खुलमखुल्ला प्रवेश गराइएको छ,’ विमानस्थल स्रोतले भन्यो,‘दलालहरुले अध्यागमनका कर्मचारीलाई कमिशन बुझाएर यस्तो भइरहेको छ । दलालको पहुँच यहाँ मात्रै होइन दुबईको विमानस्थलमा पनि छ । दियो पोस्ट बाट