गोंगबुबाट सेनाका हवल्दार सहित चार जना पक्राउ, कारण थाहा पाउँदा छक्क पर्नुहुन्छ !

जागृति खबर संवाददाता

१५ पुस, काठमाडौं ।

प्रहरीको महानगरीय अपराध महाशाखाले नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई पक्राउ गरेको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् । चार थान रेडपाण्डाको छाला सहित दुईजना प्रहरी कार्यालय सहयोगी र एकजना सेनाका हवल्दारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुबाट रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् । अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले चार जना पक्राउ परेको पुष्टि गरेपनि संगठनमा संलग्नताबारे पुष्टि भइनसकेको बताए । उनले भने, ‘दुई जना प्रहरी कर्मचारी भएको खुलिसकेको छ, सेनाको हकमा पुष्टि भइसकेको छैन ।’

अनुसन्धानमा सं लग्न एक अधिकृतका अनुसार सैनिक कर्मचारी भएको पुष्टि भए अनुसन्धान र कारबाही प्रक्रिया जंगीअड्डाले नै अघि बढाउँछ । ‘सैनिक अदालत छल्न पनि पक्राउ पर्ने सेनाका कर्मचारीले आफू सैनिक भएको बताउँदैनन्’ उनी भन्छन्, ‘जंगीअड्डासँग पनि समन्वय गर्छौं र सैनिक भएको पुष्टि भए उतै बुझाउँछौं ।’

उनीहरुको साथबाट दुलर्भ वन्यजन्तु रेडपाण्डाको चार वटा छाला बरामद भएको खापुङले बताए । प्रहरीले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालन
हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिनुभयो ।