न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए !

जागृति खबर संवाददाता

न्युयोर्क।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरु सार्वजनिक भएका छन् ।

पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।

न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाको चाप चार गुणाले बढेको छ । भर्ना भएकामध्ये आधा बालबालिका पाँच वर्ष मुनिका छन् । यो उमेर समूहका बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन् ।

अमेरिकामा कोभिड संक्रमितको संख्या फेरि बढेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो एक सातामा औषतमा दैनिक संक्रमितको संख्या १ लाख ९० हजारसम्म पुगेको छ ।

प्रचण्डको दस्तावेजको सार : ‘व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति’
नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गर्नुभएको छ । निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजनमा छ । “शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ । सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधिनताको रक्षा, श्रमिक जनताप्रति उदत्तरदायी हुनुपर्छ”, दस्तावेजको सार उहाँले भन्नुभयो ।

केही ढिला गरी शुरु भएको बन्दसत्रले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको थियो । अध्यक्ष प्रचण्डले दस्तावेज पेस गरेलगतै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
–––