काठमाडौंमा घर हुनेहरुका लागि सरकारले लगायो नयाँ नियम, अब यो कार्य गरे कडा कारवाही हुने

जागृति खबर संवाददाता

काठमाडौ।

यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनीले बिलमा आएको भन्दा बढी विद्युत महशुल उठाउने गरेको छ भने तपाईका लागि खुसीको खबर छ । अब नेपाल विद्युत् प्राधिकरणले भाडामा बस्नेसंग बढी विद्युत महशुल उठाउने घर धनीको विजुली काटिदिने भएको छ । त्यसका लागि तपाईले विद्युत कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ ।

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा भाडामा बस्नेहरुका लागि यस्तो सुविधा ल्याएको छ । काठमाडौमा डेरामा बस्नेहरुले विद्युत महशुल विलमा आएको रकम भन्दा बढी तिर्नुपर्ने वाध्यात्मक अवस्था छ । घरधनीले अनेक वहानामा विद्युत महशुल विलमा उठेको रकम भन्दा धेरै पैसा भाडामा बस्नेहरुसंग उठाउने गरेको देखिन्छ । नयाँ नियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ ।

घर वहालमा बस्नेले प्रमाण सहित आएर निवेदन दिए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेका कारण नियमावलीमा यस्तो ब्यवस्था गरिएको पनि उनले बताए । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् ।

जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र उठ्ने गर्छ ।