कोभिड सङ्क्रमण बढ्न थालेपछि दिल्लीमा पुन: रात्रिकालीन निषेधाज्ञा लगाउने निर्णय

जागृति खबर संवाददाता

१२ पुस, नयाँदिल्ली ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुन: रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ ।

विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख
बैतडी विमानस्थल स्तरोन्नतिका लागि रु एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त भएको हो ।

बैठकले धनगढी विमानस्थलका लागि रू एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रू दुई करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ । पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको हो । विमानस्थल कालोपत्र गर्न विसं २०७३ मा रु ११ करोड बजेट विनियोजन गरिएकामा सो काम सम्पन्न भइसकेको जनाइएको छ ।

हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ । पाटनमा विसं २०३२ मा विमानस्थल निर्माण थालिएकामा २०३५ सालदेखि हवाई उडान सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन ।