स्वास्थ्यमा सुधार नभएपछि महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने

जागृति खबर संवाददाता

११ पुस, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् ।

जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।

स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहने छन् । वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।

यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक सम्मेलन स्थलमा ३ जना डिएसपी खटिन्छन् । सम्मेलन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डिएसपी सहितको फौज स्ट्याडबाई राखिएको छ ।

प्रहरी परिसर काठमाडौँले सम्मेलन स्थलमा ३५० भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । सम्मेलन स्थलको सुरक्षा व्यवस्थाको निगरानीका लागी महानगरीय प्रहरी कार्यालयमा कमाण्ड पोष्ट बनाइएको छ ।