एकै दिन चार हजार ५०० उडान रद्ध, हजारौं उडानमा ढिलाइ

जागृति खबर संवाददाता

काठमाडौँ ।

विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो । त्यसैगरी अरु हजारौं उडानमा ढिलाइ पनि भएको उडानसम्वन्धी सूचना प्रवाह गर्ने वेभसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ ।

उडान रद्ध तथा ढिलाई हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ । यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्ध भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो ।

यो समाचार तयार पार्दा सम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्ध भइसकेका र अरु पनि धेरै रद्ध हुन सक्ने बताइएको छ ।

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् ।

विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।

भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दैै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले जानकारी दिनुभयो । “परीक्षाको कार्यक्रम तत्काल अगाडि बढाउन आग्रह गर्दै पटक–पटक ताकेता गर्दा पनि अगाडि नबढेपछि हामी सडकमा आउन बाध्य हुनुपरेको हो,”– अर्यालले भन्नुभयो ।

कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद भएको उहाँको भनाइ थियो । भन्सार एजेन्टका लागि ६६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताउनुभयो । “लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि सेन्टरको अभाव भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको हो,” उहाँले भन्नुभयो ।

विभागले भन्सार एजेन्टको परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडो परीक्षाको कार्यक्रम हुने उहाँको भनाइ छ ।