मलेसियामा अवैधानिक रुपमा बस्दा के फाइदा, के बेफाइदा ?

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

आफ्नै मुलुकमा रोजगार नमिलेपछि वा गरिएका बिभिन्न खाले आयआर्जन मुलक कामबाट जिविकोपार्जन गर्न मुस्किल बनेपछि बिदेश पस्ने गरिन्छ । बिदेश पस्ने क्रम हाम्रो देश नेपालमा पछिल्लो दशकमा ब्यापकरुपमा बढदै गईरहेको छ । हाल सयमा ६० भन्दा बढी घरपरिवारबाट एक वा त्यो भन्दा बढि परिवारिक सदस्य रोजगारीको लागि बिभिन्न मुलुकमा छन् । बैदेशिक रोजगार सुरक्षित हुन नसकिरहँदा पनि बिदेशिनु पर्ने बाध्यतामा आम नेपाली छन् ।

नेपाल सरकारको तथ्यांकले पनि झण्डै ४३ लाख युवाशक्ति बैदेशिक रोजगारीमा गएको तथ्य देखाउँछ । त्यही बिदेश पसेको जनशत्तिmको पौरखले आर्जेको रेमिट्यान्सबाट अहिले मुलुकको समेत गुजारा चलीरहेको छ । परदेशको कमाई र त्यसपछिको ब्यक्तिगत, पारीवारिक र सामाजिक सबैपक्षको आर्थिक सुधारलाई हामी जति सहजढंगबाट देख्ने गर्छौ त्यसको ठिक बिपरित परदेशमा रहेका बास्तविक कामदारको पिडा भने दर्दनाक छ ।

देश पछिको बिकल्प परदेश रोज्न जति सजिलो छ, यहाँको वास्तविकता भने विल्कुलै फरक भेटिन्छ । अर्काको देशमा आफ्नै घरको जस्तो ब्यवहार गरिदिए हुन्थ्यो भन्ने आशा कामदारले गर्ने गरेपनि, मालिकहरु पैसाले मान्छे किनेको जस्तो ठान्दछन र मेशिनको रुपमा प्रयोग गर्दछन् । परदेशमा कमैले मात्र सोचे जस्तो काम, सोचे जस्तो पारिश्रमिक र सम्मान पाएका हुन्छन् । अन्य अधिकांश आप्रवासी कामदारहरु पिडा, बेदना र समस्यामै जकडिएका हुन्छन ।

सम्झौता एकातिर हुन्छ काम भने अर्को तिर हुन्छ । सम्झौतामा आवास तथा बिभिन्न सुबिधा भनेर उल्लेख हुन्छ तर बास्तविकतामा त्यस्तो हुँदैन । यी र यस्तै बिभिन्न कारणले आप्रवासी कामदारले आफ्नो राहदानी र कम्पनि छाडेर परदेशमा आफुखुशी हिड्ने गरेको पाईन्छ । उनीहरु आफ्नो सम्झौता अनुसारको कम्पनि र काम छाडेर अन्तै बाटो लाग्छन ।

यसरी कम्पनि छाडेर हिडीसकेपछि उनिहरुले आफुलाई स्वतन्त्र महशुस त गर्छन तर त्यसपछिका जटिलताले भने उनीहरुलाई पोलीरहेको हुन्छ । जस्ले गर्दा घर परिवारको आर्थिक समस्या समाधान गर्न परदेश आएको परदेशी आफ्नै तनावबाट मुक्ति पाउन सक्दैन । त्यसैले हामी मलेसियाका अबैध आप्रवासी कामदारका केहि तथ्य र बास्तबिकताबारे बुँदागत रुपमा चर्चा गर्दैछौ ।

१. अबैध आप्रवासी कामदारसंग कुनैपनि रोजगार सम्झौता हुने छैन ।

राहदानीमा तोकिएको कम्पनि र काम छोडेसंगै कामदारको रोजगार सम्झौता पनि समाप्त हुन्छ । सम्झौता गरि आएको कम्पनिले सम्झौता बमोजिमको काम दाम र सेवा सुबिधा दिन सक्दैन भने सम्झौता नै नगरी काममा लगाएको कम्पनिले बोलकबुल अनुसारको बाचा पुरा गर्छ भन्ने कुनै बिश्वास हुदैन ।

२. अबैध आप्रवासी कामदार स्वतन्त्र हुने छ ।

अबैधानिक आप्रवासी कामदार स्वतन्त्र जस्तै देखिन्छ । जबसम्म उ प्रहरीको फन्दामा पर्दैन तवसम्म स्वतन्त्र देखिन्छ । प्रायः उ प्रहरीको आसपास वा नजरबाट टाढै रहने गर्दछ । लुकीछिपी हिड्ने वा प्रहरी प्रायः नपुग्ने ठाउंहरुमा उस्ले काम गरेको पाईन्छ । उस्ले कुन कम्पनिमा कस्तो काम गरेको छ । पारीश्रमिक कति पायो या पाएन । पारिश्रमिक कति पाउंछ भन्ने कुरा कम्पनि मालीक र उस्लाई मात्र जानकारी हुन्छ । यदि काम गरेर पारीश्रमिक पाएको छैन भने उस्ले उजुरी गर्ने कुनै ठाउं हुदैन ।

३. अबैधानिक आप्रवासी कामदारले पाउने पारीश्रमिकबाट लेभी र रुमभाडा काटिदैन ।

मलेसिया सरकारले हरेक आप्रवासी कामदारबाट बार्षिकरुपमा एकमुष्ट कर अर्थात लेवी बापतको रकम लिने गर्दछ । जुन हरेक बर्ष गरिने कामदारको मेडीकलपछि भिसा लगाउने बेलामा लिईन्छ । उत्पादन ,निर्माण क्षेत्रको लागि १ हजार २ सय ५० तथा सेवा क्षेत्रको लागि १ हजार ८ सय ५० । त्यसैगरि कृषिको लागि ४ सय १० र बगानको लागि ५ सय ९० लिने गरिन्छ । यही लेवि दर बृद्धि गर्दै चालु यहि जुलाई महिना देखि उत्पादन, निर्माण र सेवाको बार्षिक लेवि १ हजार ८ सय ५० तथा कृषि र बगानको ६ सय ४० बनाउने संकेत यहांको सरकारले गरिसकेको छ । यो कुनैपनि लेवि तथा आवास शुल्क अबैधानिक आप्रवासीले तिर्दैनन । त्यसैले उनीहरु प्रहरीको खोजीमा हुने गर्दछन् ।

४. उस्को कुनै बिमा हुने छैन ।

बैधानिक कामदारको बार्षिक मेडीकल गर्नु पर्ने हुन्छ । मेडीकल पास भएका कामदारको प्रत्येक बर्ष नयाँ भिसा लगाईन्छ त्यही समयमा कामदारको बिमापनि संगै गर्ने गरिन्छ । कामको शिलशिलामा कामदार बिभिन्न घटना, दुर्घटनामा पर्न सक्छ, त्यसैले बिमा गर्न जरुरी हुन्छ । तर बिमा प्रक्रियाबाट अबैधानिक कामदार बन्चित हुन्छ । भोलीका दिनमा घटना दुर्घटना केहि भईहाल्यो भने उस्ले कुनैपनि बिमा रकम पाउन सक्दैन ।

५. बार्षिक स्वास्थ्य परिक्षण हुने छैन ।

मलेसियाको हकमा यहां हरेक बर्ष आप्रवासी कामदारको स्वास्थ्य परिक्षण गर्ने गरिन्छ । एउटा कामदारको करार अवधि शुरुमा ३ बर्षको हुने गर्दछ । कानुनी प्रक्रियाभित्र नबसेका आप्रवासी कामदारको स्वास्थ्य परिक्षण हुदैन । सम्झौता गरि आएको कम्पनिबाहेक अन्य मालीक वा कम्पनिले उनीहरुको मेडिकल गर्न सक्दैनन । त्यतिमात्र होईन बिरामी हुँदा वा कुनै दुर्घटनामा परेको बेला समेत उपचारका लागि अस्पताल लैजादा उपचार नपाउने अबस्था समेत आउन सक्छ ।

६. बिरामी हुदा पाईने छुट्टी र छुट्टीको समयमा पाईने न्युनतम पारश्रिमिकबाट उ बन्चित हुनेछ ।

मलेसियाका अधिकांश कम्पनिमा नो वर्क नो पे प्रणाली लागु गरीएको हुन्छ । काम छ पैसा छ । काम छैन पैसा पनि छैन । यो प्रणाली बैधानिक कामदार होस या अबैधानिक कामदार, दुवैमा लागु हुन्छ । बैधानिक अबैधानिक कामदारबिच अर्को एउटा कुरा भने फरक हुन्छ । बिरामी बिदा दुवैले पाएपनि अधिकांश बैधानिक कामदारले काम नगरेको दिनको वा छुट्टी बसेको दिनको न्युनतम पारीश्रमिक पनि पाउंछन् । बर्षमा कति दिन छुट्टी पाउने अथवा कति दिनसम्म बिरामी बिदा पाउने भन्ने कुरा कम्पनिको नियममा भर पर्छ । यी कुराहरुबाट अबैध आप्रवासी कामदार बन्चित हुनेछ ।

७. तुरुन्तै काम परिवर्तन गर्न सक्ने छ ।

अबैध आप्रवासी कामदारले तुरुन्तै काम परिवर्तन गर्न सक्छ । काम मन परेन भने उस्लार्इ त्यही काम गरिरहनु पर्छ भन्ने हुदैन । उस्लाई बैधानिक कामदारको जस्तो बाध्यता हुँदैन । काम, दाम वा काम लगाउने ब्यक्ति मन परे उनीहरु एउटै काम बर्षौ पनि गर्न सक्छन होईन भने आजको भोली नै उनीहरुले काम छोड्दै हिड्ने गर्दछन् ।

८. मलेसियाको श्रम अधिकारले सुरक्षा दिने छैन ।

मलेसियामा बैधानिक कामदारनै आफ्ना बिभिन्न अधिकारबाट बन्चित भएको पाईन्छ । कामदारलाई माया नगर्ने मुलुकमा मलेसिया पर्दछ । जुनकुरा आई एलओले कामदारलाई माया गर भनि मलेसियालाई दिएको निर्देशनबाट पनि पुष्टी हुन्छ । त्यसमाथी यहां अबैधानिक कामदारको हैसियतमा बसेकाहरु पुर्ण श्रमअधिकारबाट सुरक्षित हुन सक्लान भन्ने कुरा कल्पना सम्म पनि गर्न सकिदैन ।

९. पर्यटक जस्तै आफ्नै तरिकाले जहाँपनि जान र बस्न सक्ने छ ।

अबैधानिक आप्रवासी कामदार एक किसिमको फिरन्ते हो । हेर्दा पर्यटक जस्तै लाग्न सक्छ । काम मन नपरे छोड्दै हिड्ने उनीहरुको बानी परिसकेको हुन्छ । त्यसले पनि उ पर्यटक जस्तै आफ्नै तरिकाले जहापनि जान बस्न सक्ने छ ।

१०. सम्बन्धित राजदुतावासले समेत उस्लाई सुरक्षा दिन कठिनाई पर्छ ।

जुन कामदार र जुन कम्पनिमा र जे कामको लागि भनेर आएको छ त्यही काममा बसीराखे आईपर्ने बिभिन्न खाले समस्याको समाधान उस्को स्वयंम कम्पनिले गर्दछ । यदि कम्पनिले गरेन भने सम्बन्धित राजदुतावासले समेत उस्लाई सुरक्षा दिन सक्छ । तर अबैधानिक कामदारको हकमा भने यो कुरा लागु हुन सक्दैन । उस्लाई सहयोग गर्न राजदुतावासलाई समेत कहि कठिनाई आई पर्न सक्छन् । सबै भन्दा ठुलो समस्या त अबैधानिक आप्रवासी कामदारको घटना दुर्घटना वा मृत्यु हुदा आई पर्दछ ।

११. जोखिम मोलेर घर फर्किनु पर्ने छ ।

अबैधानिक कामदार जब घर फर्किन चाहन्छ त्यतिबेला उस्लाई धेरै समस्या आई पर्दछ । त्यतीबेला उ कुनै न कुनै दलालको सहारा लिन पुग्दछ । दलाले मागे जति पैसा दिनु पर्ने । दलालले महिना दुई महिना झुलाई दिने । प्रहरीबाट जोगिएर हिड्नु पर्ने । घर फर्किने कागजात मिलाउनु पर्ने । मागेजति पैसा दिन नसक्दा अलपत्र पर्ने जस्ता चुनौतीको उस्ले सामना गर्नु पर्दछ । कतिपय दलालले मागे जति पैसा दिंदापनि प्रक्रिया पुरा नगरी घर पठाउंदा यहांको अध्यागमनले समातेर जेल कोचिदिन सक्छ ।

१२. प्रहरीको फन्दामा परेपछि जेल सजाय पुरागरि घरफिर्ति केन्द्र पुग्ने छ ।

मलेसियाको कानुन अनुसार अबैधानिक कामदार प्रहरीको फन्दामा परे पछि उनीहरुलाई अनिवार्य तीन महिनाको जेल सजाए हुनेछ । जेल सजाए पुरा गरेकाहरुलाई घरफिर्ती केन्द्रमा सारिन्छन् । घर फिर्ती केन्द्रमा पुगेकाहरु आफ्नै खर्चमा एकतर्फी हवाई टिकट काटेर घर फर्किन सक्ने छन् । हवाई टिकट काट्न पैसा नहुनेहरु लामो समयसम्म त्यही बस्न बाध्य हुन्छन् । त्यससमयमा आफन्त , साथीभाई, बिभिन्न संघसंस्था र मलेसियास्थित नेपाली राजदुतावासको सहयोग बिना उनिहरु घर फर्किन सक्दैनन् ।

१३. पाँच बर्षको लागि मलेसिया प्रतिबन्ध

मलेसियाले अबैधानिक तरिकाले यहाँ बस्नुलाई अपराध मान्दछ । मलेसिया बसुन्जेल अबैधानिक बसेका कामदारहरु घर फर्किने बेलामा यहाको अध्यागमनमा आत्मसर्मपण गर्नैु पर्ने हुन्छ । यसरी आत्म सर्मपण गर्नेहरुलाई मलेसियाले फेरी तुरुन्तै मलेसिया आउन नपाउने बनाएको हुन्छ । मलेसियाले घर फर्किएका अबैधानिक आप्रवासी कामदारलाइ पांच बर्ष प्रतिबन्ध गरेको हुन्छ।

आप्रवासी कामदार बैधानिक अबस्थामा रहंदा त मलेसिया सरकारले राम्रो सुरक्षा ब्यबस्था दिन सक्दैन भने अबैध अबस्थामा रहेकाले सुरक्षा पाउनेमा बिश्वस्त हुन सकिंदैन । कम्पनि यदि राम्रो परेन भने तपाइआफ्नो आन्तरिक तयार पुरा गरि घर फर्किनु नै उक्तम हुने छ । मलेसियामा अबैध तरिकाले बस्नु र काम गर्नु हाम्रो कमजोरी हो । मलेसिया सरकारले पनि भन्ने गर्छ कित बैधानिक तरिकाले बस होईन भने घर जाउ । तिमी भाग्न सक्छौ तर लुक्न सक्दैनौ ।

यति धेरै जोखिम मोलेर थोरै बढी कमाई हुने आशमा अवैध रुपमा बस्नु हुन्न । अवैधानिक रुपमा बस्दा केहि फाइदा देखिएपनि अन्तोगत्वा त्यो भन्दा धेरै जोखिम नै छ । काम ठिक परेन भनें बरु स्वदेश फर्किनु धेरै जाति हुन्छ ।