बाढीका कारण मलेसियामा ३५ हजारभन्दा बढी विस्थापित,नेपाली कामदारको अवस्था के छ ?

जागृति खबर संवाददाता

५ पुस, काठमाडौं ।

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् ।

मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।

यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ ।यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।

राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन् ।

मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरुलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ । एजेन्सी

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् ।

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजागरीको विवरण सङ्कलन गर्न आप्रवासी ‘प्रोफाईल’ निर्माण गर्न थालेका हुन ।

सङ्कलन गरेको तथ्याङ्क प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थनसहित स्थानीय ‘प्रवास प्रशासन’का लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ ।

प्रोफाइल निर्माणका लागि बागलुङ नगरपालिकाले रु चार लाख १६ हजार र काठेखोला गाउँपालिकाले रु चार लाख आठ हजार विनियोजन गरेका छन् । प्रत्येक वडामा एक गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क सङ्कलन गरिने छ ।

नगरपालिकाले १४ र गाउँपालिकाले आठ गणक छनोट गरी तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । गणकले कोवो सफ्टवेयरमार्फत तथ्याङ्क लिनेछन् । विवाईसी बागलुङको व्यवस्थापनमा गणकलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क सङ्कलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २८ गणकले आगामी माघ ४ गतेभित्र आफ्नो जिम्मेवारीमा परेका वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रित परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनःस्थापित भइसकेकाको विवरण सङ्कलन गर्नेछन् ।

प्रोफाइलमा जनसङ्ख्यिकीय जानकारी, प्रमुख गन्तव्य देश, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति तथा ज्ञानस्तरसहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीयस्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिविम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका परियोजना संयोजक मीनप्रसाद उपाध्ययाले बताउनुभयो । वैदेशिक रोजगारमा ठगी र सम्बन्धित मुद्दा, सामाजिक लागत, चुनौती, अगाडि र सुझावलाई पनि समावेश हुनेछ ।