मलेसिया, कतार, युएई, साउदी सहित ५ देशका ६५ रोजगारदाता कम्पनी कालोसूचीमा !

जागृति खबर संवाददाता

काठमाडौं ।

दुई वर्ष अघिदेखि विश्वका हरेक क्षेत्रमा कोरोना महामारीले असर गरे तापनि पछिल्लो समय भने अधिकांश देशहरूमा यसको प्रभाव कम हुँदै गएको छ ।

जसले गर्दा हरेक देशले कोरोना भाइरसको अवस्था हेरी यातायात, बजारलगायत क्षेत्रहरूमा चहलपहल बढेको छ । लामो समय ठप्प रहेको रोजगारी क्षेत्र पनि खुल्दै जान थालेको छ ।

हाल वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या पनि बढ्दै गएको छ । र, श्रम गन्तव्य मुलुक जाने क्रममा धेरै युवाहरू म्यानपावर, एजेन्ट आदिबाट ठगिन पनि थालेका छन् । तिनै ठगीमा परेका दर्जनौँ युवाहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा आजभोलि दिनकै भेटिन थालेका छन् ।

रोजगारदाता कम्पनीले सम्झौताअनुसार तलब सेवासुविधा नपाएर विदेशमा दुःख भोग्नुपरेको भन्दै विभागमा उजुरी लेखाउन पुग्नुभएका एक युवाले विदेश गएको लागतसमेत तिर्न नसकेर बिजोग भएको हिमालय टाइम्ससँग बताउनुभयो ।

पत्रिकामा आफ्नो नाम नलेख्न शर्त गर्दै उहाँले भन्नुभयो, ‘म्यानपावरले दुबई जानका लागि एक लाख ३० हजार लिएको थियो । दुबई पुगेर दुःख पाएर बल्लबल्ल नेपाल फर्किएँ । लागत पैसा म्यानपावरसँग फिर्ता माग्दा नदिएकाले यहाँ उजुरी दिन आएको ।’

वैदेशिक रोजगारीको नाममा ठगिने उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता धेरै युवा कोही विदेश गएर पीडित बनेका छन् भने कोही नेपालकै म्यानपावर वा एजेन्टलाई पैसा बुझाएपछि ठगिएका छन् ।

विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार पछिल्लो समय रोजगारीको खोजीमा विदेशिएका युवाहरूले समस्या भोग्दै आएका छन् । उहाँले उजुरीका आधारमा अनुसन्धान गरी पीडकलाई कारबाही गरिने बताउनुभयो । महानिर्देशक काफ्लेले सरकारले कालोसूचीमा राखेका रोजगारदाता कम्पनीमा पुनः कामदार पठाउने म्यानपावरको निगरानी गरी कारबाही गरिने बताउनुभएको छ । साथै, उहाँले त्यस्ता कम्पनीमा जाने श्रमिकलाई पनि चनाखो हुन आग्रहसमेत गर्नुभयो ।
सरकारले नेपाली श्रमिक जाने गन्तव्य मुलुक मलेसिया, कतार, युएई, साउदी अरेबिया, माल्दिभ्सका ६५ वटा रोजगारदाता कम्पनी र नेपालका तीन सय म्यानपावर कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राखिएका ६५ कम्पनीमध्ये सबैभन्दा बढी मलेसियाका कम्पनी छन् । मलेसियाको विभिन्न ठाउँमा रहेका कम्पनी र शाखा गरी ५२ वटा कम्पनीमा काम गर्न नजानु भनेर कालोसूचीमा सूचीकृत गरेको छ । त्यस्तै, साउदी अरेबियास्थित पाँच, कतारस्थित चार, युएईस्थित तीन र माल्दिभ्सस्थित एक कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

त्यसैगरी, सरकारले प्रतिबन्ध लगाएको कम्पनीमा श्रमिक पठाएको, श्रमिकबाट तोकेभन्दा बढी पैसा असुलेको र श्रमिकले सम्झौताअनुसार कम्पनीबाट तलब सेवासुविधा नपाएर दु्ःख पाएको पीडक म्यानपावर कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । तर, विभागमा उजुरी लेखाउन पुगेका कतिपय पीडितहरू तिनै कालोसूचीमा परेका म्यानपावरबाट ठगिइराखेका छन् ।