कैलालीमा रोकिएन ह’त्या श्रृंखला, असुरक्षित बन्दै पूर्वी क्षेत्र

जागृति खबर संवाददाता

५ पुस, धनगढी ।

कैलालीको पूर्वी क्षेत्र अपराधिक घटनाका कारण असुरक्षित हुन थालेको छ।

एकपछि अर्को गर्दै व्यक्ति हत्याका विभत्स घटना सार्वजनिक हुन थालेपछि जिल्लाको पूर्वी क्षेत्र असुरक्षित बन्न थालेको हो। टीकापुर, लम्की, चिसापनी र जानकी गाउँपालिकासहित वरपरका क्षेत्रमा जघन्य अपराधका घटना बढेका छन्।

गत साउनमा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का साढे तीन वर्षका बालक विवेक विष्टको हत्या भएको थियो। गत कात्तिक १२ गते टीकापुरमै १८ वर्षीय अनुप साँउदको छुरा प्रहार गरी हत्या गरिएको थियो। कात्तिकमै मोहन्याल गाउँपालिकामा पनि एक युवकले स्थानीय पसलेको हत्या गरेका थिए। अनुपको हत्या भएको दुई हप्ता नबित्दै कात्तिक २३ गते लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरिएको थियो।

भूपेन्द्र हत्या सुल्झिन नपाउदै शनिबार जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको घाटी रेटेर हत्या गरिएको छ। यस्ता जघन्य घटनाका कारण पूर्वी क्षेत्रमा त्रास फैलिएको छ। संगठित गुण्डागर्दी, लागुऔषध प्रयोगकर्ता तथा कारोबारीहरुको कारण अपराध बढेको स्थानीय बलराम थारुले बताए।

‘व्यक्ति हत्याजस्ता जघन्य अपराधको सिलसिलाका कारण पूर्वी कैलाली दिनदिनै असुरक्षित हुन थालेको छ,’ उनले भने, ‘युवाहरु कुलतमा फसेका छन्। यिनीहरूको समूह देख्दा डर लाग्न थालेको छ।’ दासको शनिबार अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शव फेला परेको थियो।

यो विभत्स हत्यामा लागुऔषध प्रयोकर्ताको संलग्नता हुनसक्ने मृतक अर्जुनका छिमेकीको दाबी छ। कैलालीको पूर्वी क्षेत्रमा गुण्डागर्दी गर्ने आधा दर्जन बढी समूह सक्रिय रहेको प्रहरीले पहिचान गरेको छ।

लागुऔषध, अवैध असुली जस्ता घटनामा संलग्न गिरोहले संरक्षण पाउँदा अहिले दैनिकजसो सानातिना घटना हुने गरेका छन् भने हप्ता डेढ हप्ताको अन्तरमा जघन्य हत्याका घटना घट्न थालेका छन्।

अर्जुनको हत्यामा लागुऔषध प्रयोगकर्ताको संलग्नता हुनसक्ने कुराको पनि अनुसनधान गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको दाबी छ। ‘यस्ता घटनाले हामीलाई निकै चिन्तित बनाएको छ। यस्ता अपराधिक घटना रोक्न प्रहरीको प्रयास रहने नै भयो,’ उनले भने, ‘घटनास्थलमा चुरोटका ठुट्टा र बट्टा भेटिएका छन्।

अन्य ट्याबलेटको खोल पनि भेटिएको छ। लागुऔषध प्रयोगकर्ताले घटना घटाएको हो कि भन्ने कोणबाट प्रहरीले अनुन्धान गर्नेछ।’ भारतमा मजदुरी गर्ने अर्जुन दास केही दिन अगाडि मात्रै घर आएको आफन्तले बताएका छन्।

शुक्रबार साँझ साथी भेट्न जाने भनेर गएका उनको शनिबार हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अर्जुनका आफन्तले भने हत्यामा संलग्नलाई चाँडो पक्राउ गर्नुपर्ने माग गरेका छन्। अर्जुनको हत्या भएको पत्ता लाग्नु पूर्व मृतककी श्रीमतीको मोबाइलमा एक अडियो पठाइएको छ। अडियोमा स्थानीय मनोज भण्डारी र एक अर्का युवाबीच कुराकानी भएको छ।

मनोजले घाँटी रेटेर हत्या भएको फोन रेकर्डमा खुलाएका छन्। अपराधी जहाँ भएपनि कानूनको दायरामा ल्याउने गरी अनुसन्धान अगाडि बढेको कैलाली प्रहरीले जनाएको छ।