काठमाडौंको सिभिल अस्पतालमा प्रचण्डको मृत्यु !

जागृति खबर संवाददाता

३ पुस, काठमाडौं ।

वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा २ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । शर्माले मल्लको निधनसँगै रंगमञ्चले एक कुशल रंगकर्मी गुमाएको बताए ।

मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन् । त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् । उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन् । बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए ।

स्वर्गीय मल्लकी एक छोरी छिन् । मल्लले बालकृष्ण समसँग रहेर नाट्ययात्रा अघि बढाएका हुन् । मल्लले समकै निर्देशनमा अमरसिंह, भीमसेनको अन्त्य, प्रह्लाद, राजेन्द्रलक्ष्मी जस्ता नाटकमा अभिनय गरे ।

होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित
अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ ।

विभागले आज एक सूचना जारी गरी अर्काे सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।

“डिसेम्बर १७ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (सात दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने सक्रिय रहेको विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा शुक्रबार नै उक्त व्यवस्था लागू गरिएको तर कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) का अधिकारी तथा गृह मन्त्रालयबाट समेत तत्कालका लागि उक्त व्यवस्थालाई पुनःविचार गर्नुपर्ने देखिएको र थप छलफल गर्नुपर्ने कुरा आएकाले तत्कालका लागि उक्त व्यवस्था स्थगन गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

उक्त विषयमा सोमबार सीसीएमसीका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारीसहितको बैठक बस्ने भएकाले सोही बैठकको निर्णयका आधारमा अघि बढ्ने गरी हाललाई उक्त व्यवस्था स्थगन गरिएको विभागले जनाएको छ ।