अन्तत: मिनेन्द्र रिजालले बुझाए प्रधानमन्त्री समक्ष राजिनामा !

जागृति खबर संवाददाता

१ पुस, काठमाडौं ।

रक्षामन्त्री पदबाट मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै राजीनामा दिने बताएका हुन्।

रिजालले महामन्त्रीको फाइनल मत परिणाम आएपछि प्रधानमन्त्री समक्ष राजीनामा दिने इकागजसँग बताए । ‘फाइनल मत परिणाम आएपछि प्रधानमन्त्री समक्ष राजीनामा दिन्छु’ रिजालले इकागजसँग भने ‘अहिले घोषणा मात्रै गरेको हुँ ।’

‘नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु’ रिजालले ट्‍वीट गरेका छन् ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।

कालीकोटका १८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ ।

यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७२२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५०७ तथा खाँडाचक्र नगरपालिकामा तीन हजार ५४४, रास्कोटमा तीन हजार ३०३ र तिलागुफा नगरपालिकामा दुई हजार ८९२ गरी कूल २४ हजार ६११ जना ती समूहका बालबालिका रहेका छन् । तीमध्ये पहिलो मात्राको खोप १८ हजार १६७ जना बालबालिकालाई दिने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिनुभयो ।

“जिल्ला शिक्षा विकास समन्वय इकाइ कालीकोटको दिएको डाटाअनुसार २४ हजार ६११ जना बालबालिका रहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले १८ हजार १६७ बालबालिकालाई मोडर्ना खोप दिने लक्ष्य दिएको छ । यकीन तथ्याङ्क पालिकाबाट फेरि मागेका छौँ ।”

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा हालसम्म सञ्चालित कोभिडविरुद्धको खोप अभियानको समीक्षा तथा आगामी पुस महिनाको १२–१४ गते सञ्चालन हुने १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप अभियान सञ्चालन सम्बन्धमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको र खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने निमित्त व्यवस्थापक महतले बताउनुभयो । मोडर्ना खोप जिल्लाका नौ वटै स्थानीय तहका १२० भन्दा बढी खोप केन्द्रमा उपलब्ध हुने उहाँको भनाइ छ ।