देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभयो, त्यसैले मैले साथ दिएँ: प्रकाशमान सिंह

जागृति खबर संवाददाता

काठमाडौं ।

कांग्रेस सभापतिको दोस्रो मतदानमा शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले यस्तो निर्णय लिएको जानकारी दिएका छन्।

पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए।

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको छ। देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए।

आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भने(‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’

उनले देउवासँग शक्ति बाँडफाँटको कुरा भएको र राष्ट्रिय निर्वाचनपछि कांग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको जानकारी आफ्ना मतदाताहरुलाई दिएका थिए।

कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उहाँहरु निर्वाचित हुनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याउनुभयो भने शर्माले दोस्रो स्थानमा जीत हासिल गर्नुभएको छ । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्थ्यो ।