बुद्ध एअरकाे जहाज भरतपुरमा आपत्कालीन अवतरण !

जागृति खबर संवाददाता

१ पुस, काठमाडौं ।

बुद्ध एअरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि फेरि भरतपुरमै अवतरण गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बुद्ध एअरको बीच क्राफ्ट जहाजमा १९ जना यात्रु र चालक दलका तीन सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताउनुभयो । कुनै समस्या हुन सक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

सदरमुकामबाटै उपल्लो डोल्पाको सुरक्षाः हिमपातका कारण खोप कार्यक्रम प्रभावित

पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन अवस्थामा पुगेको छ ।

उपल्लो डोल्पाका तीन वटा पालिकामा रहेका प्रहरीचौकी ज्यान जोगाउने भन्दै सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो ।

सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । “प्रहरीचौकी रहेका घर रित्ता छन् । प्रहरी सदरमुकाम दुनै आइसकेका छन्”, दुनैका प्रेमा गुरुङले भन्नुभयो । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।

जिल्लामा सबैभन्दा बढी चोरी, निकासी तथा पैठारी हुने ठाउँमध्येमा उपल्लो डोल्पा पर्दछ । बहुमूल्य जडीबुटी, जङ्गली जनावर तथा पुराना बुद्धका मूर्ति चोरी हुनेक्रम रोकिएको छैन । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने पक्का भएको छ । तीन पालिकामा २१ वडा प्रहरीविहीन छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी र शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन् । अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डोल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे–फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरीचौकीका प्रहरी जिल्लामा गाभिएका छन् ।

डोल्पा सबैभन्दा ठूलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरीचौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाले बताउनुभयो । “अहिले पनि सहयोग त पाइएको छ, अझै यो भन्दाबढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ”, उहाँले भन्नुभयो । उपल्लो डोल्पामा बस्नका लागि अहिलेका समयमा लत्ताकपडादेखि चश्मा, बुट चाहिने गर्दछ जो प्रहरीसँग अहिले छैन उहाँको भनाइ छ । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ । मङ्सिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो ।

त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा यहाँ घरमै सुत्केरी हुने गरेको पाइएको छ । तीन पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उहाँले बताउनुभयो । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिनुभयो ।