राति सवा १२ बजेसम्म उपसभापतिको मतगणना जारी, गच्छदार र गुरुङबीच कडा टक्कर !

जागृति खबर संवाददाता

१ पुस , काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना जारी छ ।

उपसभापतिको मत गणनामा दुई फरक प्यानलका उम्मेदवार विजय कुमार गच्छदार र धनराज गुरुङको कडा टक्कर परेको छ ।

३५५८ मतगणना हुँदा विजयकुमार गच्छदारले १४४३ पाएका छन् भने धनराज गुरुङले १४३७ पाएका छन् ।

गच्छदार सभापति शेरबहादुर देउवा प्यानलका हुन् । यस्तै गुरुङ शेखर कोइराला प्यानलका उम्मेदवार हुन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ ।

यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।