विदेश गएका श्रीमान घर नफर्केपछि……

जागृति खबर संवाददाता

काठमाडौं ।

“वन लाया गोरु भैँसा फर्की जान्ना साँझ म एकली छाणीकन काँ गई रङ्गी बाज(पति) साइ(पति)ले मो बरबट्टै(चौपट्टै) छाणी के गरी खानु हो
साइ बम्बै बेपत्ता भइ गई मैले काँ जानु हो खोली खेत बिनुभैंसी एकली बाग(बाघ) लागी सबैकी घर बारी भइगइ मेरा के आगलागी ।”

शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमानाका श्रीमान् टेकबहादुर कमाउनका लागि २० वर्ष पहिले भारतको जोधपुर जानुभयो । विवाहलगत्तै श्रीमान् कमाउन गएपछि धन लिएर आउनुहुन्छ र घरमा आरामसँग जीवन जिउन सहज हुन्छ भन्ने उहाँको सपना पूरा भएन । कमाउन गएका श्रीमान् २० औँ वर्षसम्म पनि घर नफर्किएपछि उहाँलाई मर्नु न बाँच्नुसरह भएको छ । श्रीमान् कुन र कस्ता अवस्थामा छन् भन्ने विषयमा जानकारीसमेत नहुँदा उहाँ चिन्तित बन्नुभएको छ ।

टेकबहादुर कमाउनका लागि भारत गएका बेला गर्भमा भएको श्रीमान्को नासो अहिले हुर्किएर ठूलो भए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै सम्पर्कमा नआउँदा उहाँ हिजोआज घरमा एक्लै हुनुहुन्छ । करिब १५ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएका महिसराले श्रीमान्बाट सुख त परै जाओस्, अनुहारसम्म हेर्न नपाएको कम्तीमा पनि २० वर्ष भयो । महिसराले भन्नुभयो, “म तीन महिनाकी गर्भवती थिएँ, त्यतिबेला श्रीमान् कमाउनका लागि भारत जानुभएको हो, अहिलेसम्म अत्तोपत्तो छैन, म के गरी बाँचौँँ ।” छोरा गोपालले बाबा किन आएनन् भनेर आमालाई दैनिक सोध्ने गरेका कारण उहाँलाई झनै पीडा हुने गरेको छ । साथीसँगीका बुबा भारतबाट घर फर्किँदा आफ्ना चाहिँ नफर्केपछि गोपालले बाबा किन आएनन् भनेर सोध्ने गरेको तर आफूले उत्तर दिन नसकेकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले रुँदै भन्नुभयो, “के भयो होला, कहाँ गए होलान्, कसले खोजी दिने मेरा श्रीमान् ?”

चार वर्षसम्म कुनै पत्तो थिएन । पछि श्रीमान् अचानक आफैँ घर आउनुभएको महिसराले बताउनुभयो । “त्यसपछि कमाउन श्रीमान् फेरि भारत गएपछि म उहाँको बाटो कुरेरै बसेँ तर आउनुभएन, अब कहिले आउलान्, अझै आशा मारेकी छैन”, उहाँले भन्नुभयो ।

सानै उमेरदेखि र’क्सीको न’शा’मा रमाउने बानी परेका टेकबहादुर धेरै दिन घरमा बस्नुभएन । फेरि कमाउने भन्दै घरबाट गए पनि कहाँ गएको भन्ने उहाँकी श्रीमती तथा गाउँलेलाई अहिलेसम्म अत्तोपत्तो छैन । महिसार हिजोआज बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ–बिहानको छाक टार्नुहुन्छ । माइती, देवर र जेठाजुका सहयोगमा महिसराले छोरालाई हुर्काउनुभयो, दुःखकष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाउनुभयो । गोपाललाई स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, शिक्षकले चान्स (ग्रेड वृद्धि) दिन पाउने भनेका थिए तर उनी पनि रोजगारीका लागि भारत गए । त्यसअघि उहाँ छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्नुहुन्थ्यो तर ऊ पनि कमाउन मुग्लान पसेपछि उहाँलाई त्यो खुशी मिल्न सकेन । श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना महिसराको थियो तर पेट पाल्नकै लागि मुग्लान पस्नुपर्ने लाखाँैं युवाको नियति जस्तै गोपालका रह्यो ।

महिसराको जस्तै अवस्था अर्की स्थानीयवासी कृष्णा गिरीको पनि छ । करिब १६ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएका कृष्णा पनि १६ वर्षदेखि श्रीमान्का पर्खाइमा घरमा हुनुहुन्छ । द्व’न्द्वका’लमा कृष्णाका श्रीमान् दीपक घरबाट केही नबोली चुपचाप निस्किनुभयो । गाउँतिरै डुल्दै हुनुहोला भन्ने सोच्नुभएका कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाउनुभएको छैन । दिन, महिना र वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ तर दीपक घर फर्केर आउनुभएन । उहाँ घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मी पनि अहिले १५ वर्ष पूरा भइसक्नुभएको छ ।

महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पी’डा खेपिरहनुपरेको शिखर नगरपालिका–१ कपल्लेकी चम्पा पार्की बताउनुहुन्छ । तीन वर्ष पहिले महिसरा र कृष्णाले श्रीमान्को खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिनुभएको थियो । प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उहाँहरुले अहिले श्रीमान् आउने आशा मा’रिस’क्नुभएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–१, बाँझ गाउँका ३३ वर्षीय दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको कम्तीमा ६ वर्ष पुगेको छ । पति फर्केर आउने आशमा पत्नी प्रेमाका दिन बितिरहेको छ । विसं २०७२ मा पैसा कमाउन दिलबहादुर भारतको बेंगलोर जानुभएको थियो । श्रीमान् अहिलेसम्म पनि नफर्किँदा आफूलाई बाँच्नु न म’र्नुसरह भएको प्रेमा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कमाउन गएका श्रीमान् अहिलेसम्म फर्किनुभएन, म के गरी खानू र कसरी बाँच्नू ? म’र्न पनि सक्दिन, बाँच्न पनि गाह्रो भयो ।” सम्पर्कविहीन पतिको खोजीका लागि सबै ठाउँमा धाउँदा पनि केही खबर पाउन नसकेपछि झनै पीडा भएको उहाँको भनाइ छ ।

उहाँले खसमको खोजीका लागि विभिन्न ठाउँमा जोखना हेराउनाका साथै देवीदेवता पनि सोध्नुभएको छ तर कुनै खबर नपाउँदा उहाँको तस्बिर राखेर श्रीमान् हराएको सूचना सामाजिक सञ्जालमा राखी खोजीका लागि सबैसँग आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालबाट पनि समाधान नभएपछि अब हराएका पतिको खोजीका लागि प्रहरी कार्यालयमा निवेदनसहित जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

शिखर–३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल भने घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बीर देखाउँदै कसैले कहीँ देख्नुभयो कि भनेर सोधपुछ गर्नुहुन्छ । करिब २५ वर्षअघि रोजगारीका लागि भारत पस्नुभएका जोगेनीका जेठा छोरा चेत अहिलेसम्म पनि घरफर्किनुभएको छैन । छोराको पी’डाले उहाँलाई पनि दिनहुँ सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “छोरो नदेखेरै म’र्ने भएँ, म’र्नुअघि एकपटक उसलाई देख्ने धोको छ, कुन भगवान्ले उसलाई खोजिदेला ।” बे’पत्ता चेत जीवित हुनुहुन्छ वा हुनुहुन्न, अहिलेसम्म कहाँ हुनुहुन्छ भन्ने उहाँलाई जानकारी छैन ।

चेत पनि पैसा कमाउन भारत, मुम्बई जानुभएकामा उतैबाट सम्पर्कविहीन हुनुभएको छ । आमा जोगेनीका अनुसार चेत मुम्बईमा चौकिदारी काम गर्नुहुन्थ्यो । उहाँसँगै गएका गाउँका अन्य साथीभाइ घर फर्किए पनि उहाँ अहिलेसम्म फर्किनुभएको छैन । सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन भने दिएको छैन ।

कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्याङ्क सङ्कलन गरिरहेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार रोजगारीका लागि भारतमा गएकाहरूमा शिखर नगरपालिकाका मात्रै १०० जना बेपत्ता भएका छन् । जिल्लाभरिको पूरै तथ्याङ्क लिने हो भने भारतमा गएर बेपत्ता भएकाहरूको सङ्ख्या अझै बढ्न सक्ने उक्त संस्थाको जिकिर छ । कामका लागि भारत गएका सुदूरपश्चिमका नागरिकको अवस्था र हराएकाहरू केकति कारणले सम्पर्कविहीन भएका हुन् भन्ने विषयमा अनुसन्धान गइरहेको निड्स नेपालका सहकार्यकारी अधिकृत प्रकाशचन्द्र मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “कामका लागि भारत गएका र पछि सम्पर्कविहीन भएकाहरूका बारेमा अनुसन्धान भइरहेको छ, कसरी र किन सम्पर्कविहीन भए, खोजी गर्दैछौँ ।”

रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरू उतै रमाउने र त्यहीँ विवाह गरी बस्ने गरेका कारण पनि कतिपय व्यक्ति पछि गएर घरपरिवारको सम्पर्कमा नआउने गरेको हुन सक्ने डोटी प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो । प्रहरी उपरीक्षक मल्लले भन्नुभयो, “यहाँ सानै उमेरमा भारत जाने बानी रहेछ, उनीहरू भारतमा कमाउने र त्यहीँ विवाह गरी बस्ने भएकाले पनि घरपरिवारको सम्पर्कमा नआउने गरेका हुन सक्छन्, विस्तृत के हो, हामी पनि बुझ्दै छौँ ।” निड्स नेपालको तथ्याङ्कानुसार कतिपय नेपाली पारिवारिक रुपमा त’नाव भो’गेर भारत जाने र उतै बेपत्ता हुने गरेका छन् । सम्पर्कमा नआएकामध्ये केही विभिन्न कारागार रहेको उक्त संस्थाको अनुमान छ । बे’पत्ता हुनेमध्ये धेरैजसो बिहे नहुँदै भारत पसेका छन् । घरपरिवारको जिम्मेवारी नभएका कतिपय मानिस भारतमै रमाउने र हराउने गरेको देखिएको छ । भारतमा हराएका आफन्तबारे प्रहरीमा उजुरी खासै नआउने गरेको प्रहरीको भनाइ छ ।

सुदूरपश्चिम र मध्यपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो । पुस्तौँदेखि यहाँका नागरिक रोजगारीका लागि त्यहाँ जाने क्रम जारी छ । मडैका अनुसार सन् १८१६ को सुगौली सन्धिपछि नेपाली कामका लागि भारत जान थालेको पाइन्छ । सरकारले भने भारतमा काम गर्न जाने नेपालीलाई वैदेशिक रोजगारीको सूचीमा राखेको छैन । कामका लागि तेस्रो मुलुक गएकाहरूले केही समस्या भए बिमादेखि अन्य सुविधा पाए पनि कामकै लागि ‘हिन्दूस्थान’ गएका नेपाली भने त्यस्तो सुविधाबाट वञ्चित छन् ।

कामका लागि भारत जानका लागि भने कुनै नीतिनियम छैन । नीतिनियम नहुँदा भारतमा हराएका तथा अ’ङ्गभ’ङ्ग र मृत्यु भएकाका परिवारका सदस्यले क्षतिपूर्तिसमेत पाउने गरेका छैनन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले श्रीमान् तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँमा र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्न समस्या भएको बताउनुभयो । प्रहरी निरीक्षक चन्दले भन्नुभयो, “घरका सदस्य हराएको भन्ने निवेदन (खबर) त आउँछ तर परिवारले कहिले, कहाँबाट हराए भन्ने जानकारी दिन सक्दैनन्, त्यसैले तिनका खोजीमा केही समस्या हुने गरेको छ, तैपनि हामी हाम्रा क्षेत्रबाट खोजतलासका लागि पहल गरिरहेका छौँ ।