कांग्रेस सभापतिको पुनः:मतगणना अपडेट, देउवाले लिए अग्रता !

जागृति खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम आएको छ।

प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । १७०० मत गन्दा देउवाले ९९१ मत ल्याउँदा शेखरले ६८९ मत पाएका छन् । एक मत बदर भएको छ ।

मंगलबार राति साढे ११ बजेबाट मतगणना सुरू भएको हो। पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो।

दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो।

सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।