कांग्रेसमा नेतृत्व बदल्ने ढोंग पिट्ने प्रकाशमान र निधि निर्लज्जा बन्दै देउवा क्याम्पमा छिरे !

जागृति खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

जारी १४औं महाधिवेशनबाट नेपाली कांग्रेसको स्वेच्छाचारी र गुटबन्दी सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ नेतृत्व स्थापित गराउन भनी आफैं सभापति पदमा उम्मेद्वार बनेका प्रकाशमान सिंह र विमलेन्द्र निधि अन्ततः देउवाकै शरणमा पुगेका छन् ।

पहिलो चरणको मतदानमा झिनो मत मात्र पाएका दुवै जना दोस्रो चरणको चुनावमा देउवाकै औंला समातेर देउवालाई नै अर्को पाँच वर्षसम्मका लागि सभापति जिताउने मंगलबार साँझ राष्ट्रिय सभागृहमा भोट माग्न लाइन लागेर बसे ।

प्रकाशमानले देउवाले युग पुरुष भनिने चिनिने गणेशमान सिंह (उनका पिता)को सपना र विचार कुल्चेको भन्दै देउवाविरुद्ध महाधिवेशनमा उम्मेद्वार दिएका थिए । निधिले देउवा सभापति रहेका बेला कांग्रेसका तराईका अग्रज नेता महेन्द्रनारायण निधिको विचार र सपनालाई माटोमा मिलाइ दिने काम गरेको भन्दै नेतृत्व बदल्ने र कांग्रेसलाई नयाँ उचाई पुर्याउन भन्दै सभापतिमा उम्मेद्वारी दिएका थिए ।

तर उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधिको नजरमा नगन्य र पत्यारिला पात्र बन्न नसकेपछि देउवाकै पाउ मोल्न पुगेका छन् । उम्मेद्वारी दर्तापछि आफूलाई सभापतिमा जिताउन भन्दै भोट माग्ने क्रममा उनीहरुले चुनाव दोस्रो चरणमा पुगेको खण्डमा देउवाबाहेकका सबै उम्मेद्वारहरु एक ठाउँमा उभिएर देउवालाई पल्टाएरै छाड्ने अभिव्यक्ति समेत दिएका थिए । तर उनीहरुको त्यो अभिव्यक्ति ८ घण्टा पनि टिकेन । देउवासामू घुँडा टेकेर देउवाले दिएका पद र भाग स्वीकारेर देउवालाई भोट माग्न पो पुगे । यो परिस्थिति सायद इतिहासमा लज्जाको रुपमा दर्ज हुनेछ । दोस्रो चरणमा सिंह र निधि पक्षधर प्रतिनिधिमध्ये केहीले मात्र मत दिँदा पनि देउवाको जीत पक्का छ ।

शुरुमा रामचन्द्र पौडेललाई, नभए शेखर कोइरालालाई साझा उम्मेद्वार बनाउन गरिएको प्रयासका क्रममा प्रकाशमानका ढिपी आफूले सभापति जित्ने ढोंग पिटेका थिए । तर साढे ४ हजारभन्दा प्रधिनिधिमाझ ३ सय मत खुम्चिनुपर्ने आफ्नो अवस्थालाई समेत उनले तिलाञ्जली दिएर आफैंलाई नराम्ररी ढाँटे प्रकाशमानले । ‘जो अगुवा, उनी बाटो ….’ भने जस्तै भए उनीहरु । उनीहरुको तुलनामा पहिलो चरणबाट प्राप्त मतलाई हेर्दा शेखरले आफूले जित्ने भनी गरिएको दाबी धेरै मात्रामा सत्यको नजिक रहेको पुष्टि भयो ।

देउवाको उनीहरुले भनेजस्तै कांग्रेसमा देउवाको नेतृत्व अपाच्य र असफलसिद्ध थियो भने देउवाबाहेकका सबै चारै जना उम्मेद्वार एक ठाउँमा उभिएर साझा उम्मेद्वार बनाएर दोस्रो चरणको चुनाव लड्न सक्थे, तर सधैंका रोगझैं लोभ र भागको चंगुलमा परेर देउवाकै ‘असफल’ नेतृत्व भोग्न योपटक पनि अघि सरे ।

देउवालाई हटाएर कांग्रेसलाई अग्रगामी बाटोमा बदल्न हिँडेका दुवै जना उल्टै आफैं बदलिएर देउवाले लिइरहेका पुरानै बाटो पछ्याउन पुगे । अबका दिनमा कांग्रेसको नेतृत्वमा रहेर युवा पिंढीले देउवा–सिंह–निधिले दिने गन्तव्यहीन बाटोलाई नै पछ्याउँछन् कि उनीहरुलाई चाहिं नयाँ र प्रगतिशील बाटोमा हिड्न आँखा खोलिदिन्छन् त्यो भने आगामी दिनले नै बताउनेछ ।