प्रकाशमानलाई देउवाको अफर : दोस्रो चरणमा सघाए प्रधानमन्त्री बनाउँने खुलाशा !

जागृति खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दैछन् ।

दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण आज बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका छन् । भेटमा खाँणले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेका छन् ।

स्रोतका अनुसार देउवाको दूत बनेका खाँणले प्रकाशमानलाई अफर गरेका थिए । देउवाको संदेश सुनाउँदै खाँणले दोस्रो चरणमा सघाएको खण्डमा आगामी प्रधानमन्त्री प्रकाशमानलाई बनाउने आस्वासन दिएका छन् । सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएका छन् । मतगणना नसकिंदै खाँण प्रकाशमान निवासमा पुगेका थिए ।

तर निर्वाचन समितिले सार्वजनिक गरेको सभापतिका तीन उम्मेदवारको मत फरक छ । देउवाले पाएको मत २०५८ कायमै रहँदा शेखरको मत घटेर १७०२ कायम भएको छ । प्रकाशमानको भोट ३७१ कायमै छ भने निधिको एक भोट बढेर २५० र कल्याण गुरुङको दुई भोट थपिएर २२ पुगेको छ ।

यसो गर्दा बदर र प्राप्त मतको योगफल कुल खसेको मत ४६८१ भन्दा एक मत बढी हुन जान्छ । ट्याङ्कीमा एक मतचाहिँ बढी कहाँबाट आयो त ? भन्ने प्रश्नमा आचार्यले भने, ‘बदर मत ७७ भनिएकोमा ७६ मात्रै बदर भयो कि ? एक मत कतै गयो होला ।’

नेपाली काँग्रेसको निर्वाचन समितिका तर्फबाट आचार्यले मंगलबार बिहान पढेर सुनाएको मत परिणाम अनुसार सभापति पदमा कुल मतदाता सङ्ख्याभन्दा खसेको मत २३ बढी देखिएको थियो ।

आखिर काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मतपत्र खसाएको पानी ट्याङ्कीमा २३ मत चाहिँ बढी कसरी पर्न गयो त ? यो प्रश्न गर्दा आचार्यले भने, ‘त्यो बढी देखिएको निर्वाचन समितिले सच्याइसक्यो, शेखर कोइरालाको २७ मत घट्यो । विमलेन्द्रजीको एक मत बढ्यो, कल्याण गुरुङको दुई मत बढ्यो । एक मतचाहिँ बदरमा यताउति भयो होला ।’