रोजगारदाता देशले ‘कोभिड खोप’ अनिवार्य गरेपछि नेपाली कामदार मारमा

जागृति खबर संवाददाता

२७ मंसिर, काठमाडौं ।

हालैदेखि विदेशी कामदार आपूर्ति गर्दै आएका रोजगारदाता देशले ‘कोभिड खोप’ नलगाएका विदेशी कामदारलाई प्रवेशमा रोक लगाएपछि नेपाली कामदार मारमा परेका छन् । घर बिदामा आएका नेपाली कामदारहरूले नेपालमा कोभिड खोप लगाउन नपाएपछि उनीहरू मारमा परेका हुन् ।

प्रमुख रोजगार गन्तव्य देशहरूले स्वास्थ्यलाई मध्यनजर गर्दै रोजगारीका लागि भित्रिने विदेशी कामदारका हकमा कोभिड खोप अनिवार्य लगाएको हुनुपर्ने स्वास्थ्य मापदण्ड लागू गर्न थालेका छन् । रोजगारदाता देशले मात्र होइन, अन्तर्राष्ट्रिय उडान भर्दै आएका एयरलाइन्स कम्पनीहरूले समेत कोभिड खोप लगाएर मात्र यात्रा गर्न सूचित गर्न थालेका छन् ।

हाल, यूएईले भारतसँग अन्तर्राष्ट्रिय उडानलाई खुुकुलो बनाउने निर्णय गरेको छ । तर, भारतबाट यूएई प्रवेश गर्न भारतीय नागरिकले कोभिड खोप भने अनिवार्य लगाएको हुनुपर्ने जनाइएको छ ।

यूएईले नेपालसँग भने अन्तर्राष्ट्रिय उडान अझै खुलाएको छैन । तर, चार्टर्ड उडान अथवा घरबिदामा आएका कामदार पुन: यूएई रोजगारीमा फर्किंदा भने कोभिड खोप अनिवार्य लगाएको हुनुपर्छ ।

यूएईबाट घरबिदामा आएका काठमाडौंको टोखाका लक्ष्मण अधिकारीको १० दिनपछि बिदा सकिँदै छ । उनले हालसम्म कोभिड खोप लगाउन नपाएको सामाजिक सञ्जालमार्फत शिलापत्रलाई जानकारी दिए ।

‘यूएईमा वाटर सप्लाई कम्पनीमा काम गर्दै आएको थिएँ । कम्पनीले कोभिड खोप लगाएर मात्र आउन इमेल गरेको छ । तर, नेपालमा कोभिड खोप लगाउन पाइँदैन,’ उनले भने, ‘यताउति भनसुन गरेको छु । एक साताभित्र खोप लगाउन पाएँ भने लगाएर फर्किन्छु, नत्र रोजगारी नै गुम्छ होला ।’

अधिकारीजस्तै, हाल घरबिदामा आएका ५ हजारभन्दा धेरै कामदार यूएई फर्किनुपूर्व श्रमस्वीकृति लिए पनि कोभिड खोप समयमा लगाउन नपाउँदा नेपालमै रोकिनुपरेको उनीहरूले बताइरहेका छन् ।

अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै साउदी सरकारले पनि कोभिड खोप लगाएर मात्र साउदी प्रवेश गर्न विदेशी कामदारलाई आग्रह गरेको छ ।

साउदी अरबले आफ्नो मुलुक प्रवेश गर्ने विदेशी नागरिकका हकमा फाइजर बायोएनटेक, अक्सफोर्ड एस्ट्राजेनेका, मोडेर्नाको दुई डोज र जोन्सन एण्ड जोन्सनको एक डोज खोप लगाएको हुनुपर्ने नीति सार्वजनिक गरेको समाचार गत साता गल्फ न्युजले प्रकाशित गरेको छ ।

गत फागुनमा साउदीबाट घरबिदामा आएका काभ्रेका कविर तामाङको बिदा सकिन दुई साता बाँकी छ । उनी साउदीको चर्चित ‘गल्फ वर्ल्ड फनिर्चर उद्योग’मा काम गर्दै आएको बताउँछन् ।

कोभिड खोप लगाउन पाइएन भने त रोजगारी गुम्ने उनले बताए । ‘एकातिर अन्तर्राष्ट्रिय उडान बन्द छ, अर्कोतिर रोजगारदाता देशले अनिवार्य कोभिड खोप लगाएपछि मात्र प्रवेश दिने बताएको छ । देशभित्र रोजगारी पाइँदैन । खोपकै कारण साउदी जान पाइएन भने परिवार पाल्न समस्या हुने भयो,’ उनले भने, ‘साउदी फर्किन हवाई टिकट पनि धेरै महँगो छ । कम्पनीले हवाई टिकटको खर्च दिएन भने दुई महिनाको कमाइ खर्च हुन्छ । राम्रो रोजगारी छ, त्यही भएर मात्र जान लागेको हुँ ।’

साउदीबाट घर बिदामा आएका ४ हजारभन्दा बढी कामदारले पूर्व श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । उनीहरूले पनि कोभिड खोप सहजै लगाउन नपाएको गुनासो गरिरहेका छन् ।

यूएई र साउदीले जस्तै, कतार सरकारले पनि विदेशी नागरिकका हकमा कतार प्रवेश गर्न कोभिड खोप अनिवार्य गरेको छ । विदेशी नागरिकले कोभिड खोप लगाएको भए कतारमा क्वारेन्टाइनमा बस्नु पर्दैन । कतारबाट घर बिदामा आएका कामदारले पनि कोभिड खोप लगाउन नपाएर रोकिनुपरेको गुनासो गरिरहेका छन् । कतारबाट घरबिदामा आएका ५ हजारभन्दा धेरै कामदारले पुन: श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

उता मलेसियाले भने विदेशी श्रमिकलाई कोभिड खोपको व्यवस्था रोजगारदाताले नै प्रतिडोज ९० रिङ्गिट (२७ सय) तिर्नुपर्ने गरी स्वास्थ्य मापदण्ड लागू गरेको छ । मलेसिया जाने कामदारले कोभिड खोप नेपालमै लगाएर गएको छ भने रोजगारदाता कम्पनीले खर्च ब्यहोर्नुपर्छ ।

कुवेतले विदेशी नागरिकका हकमा भने मोडेर्नाको दुई वा फाइजरको एक डोज लगाएको विदेशीलाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा प्रवेश दिने भएको छ । साथै, कुवेत प्रवेश गर्नुअघि क्वारेन्टाइन बसेको एक हप्तापछि पीसीआर परीक्षण गर्ने मापदण्ड बनाएको छ । हाल कुवेतबाट घरबिदामा आएका १ हजारभन्दा धेरै कामदारले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यसैगरी, ओमान र बहारइनले पनि विदेशी कामदारका हकमा अनिवार्य कोभिड खोप लगाएको हुनुपर्ने स्वास्थ्य मापदण्ड लागू गरेका छन् । यी देश जान २ हजारभन्दा धेरै कामदारले पूर्वश्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभिन्न देशबाट घरबिदामा आएका करिब ३० हजार कामदारले पुन: श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा छुटै कोभिड खोप लगाउने विषयमा स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायसँग छलफल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल श्रीवास्तवले जानकारी दिए ।

सरकारले अहिलेसम्म वैदेशिक रोजगारीमा जाने कामदार र नेपालभित्रै विभिन्न क्षेत्रमा काम गर्दै आएका श्रमिकहरूलाई कोभिड खोप लगाउने विषयलाई प्राथमिकतामा राखेको छैन । नेपालमा ‘कोभिड खोप’ लगाउन नपाउँदा घरबिदामा आएका कामदारलाई रोजगारीमा फर्किन समस्या भइरहेको गुनासो आउन थालेको विभागले जनाएको छ ।

गत बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अन्तर्राष्ट्रिय उडान खुलाएसँगै टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाले विदेशी कामदारलाई अनिवार्य कोभिड खोप लगाएर प्रवेश गर्न अपिल गरेका छन् ।