कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकारद्वारा क्यामरा डाउन !

जागृति खबर संवाददाता

२७ मंसिर, काठमाडौं ।

प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।

साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।

प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ। पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन्।

उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन्। त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन्।

अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्। उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।

कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि प्राविधिक कारण मतदान सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान सुरु हुन नसकेको बताइएको छ ।

समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार प्रसार गरेर मतमागिरहनुभएको छ ।