अमेरिकामा आँधी, ५० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका

जागृति खबर संवाददाता

२५ मंसिर, काठमाडौं ।

अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण आँधीमा अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गएको आशंका व्यक्त गरिएको छ । राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भीषण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार मर्नेको संख्या १ सय सम्म पुग्न सक्छ ।

अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।

प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ । अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ ।

विभेदमा परेका समुदायलाई राज्यका हरेक क्षेत्रमा स्थान दिनुपर्छ : मन्त्री साह

प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बहिष्कार र विभेदमा परेका समुदायको राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

सप्तरीको भगवतपुरमा गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री साहले मुलुकमा एक तिहाइ आदिवासी रहे पनि उनीहरूको राज्यका हरेक क्षेत्रमा न्यून सहभागिता रहेको बताए । उनीहरूको अर्थपूर्ण सहभागिताका लागि पत्रकारहरूले कलमको माध्यमले आवाज उठाउनु पर्ने मन्त्री साहको भनाइ छ ।

यसका साथै प्रदेशको विकास हुन नसक्नुमा बजेटको उचित खर्च व्यवस्थापन हुन नसक्नु पनि एक रहेको बताएका छन् । चौमासिक बितिसक्दा पनि कूल बजेटको १० प्रतिशत मात्र खर्च भएको मन्त्री साहको भनाइ छ ।

चालुमा ८ र पुँजीमा २ प्रतिशत मात्र खर्च भएको मन्त्री साहले बताए । प्रदेश २ का साना किसान धेरै रहेकाले उनीहरूलाई प्राथमिकतामा राखेर आफूले काम गर्दै आएको मन्त्री शाहले बताए ।

दश कठ्ठासम्म जग्गा हुने साना किसानलाई प्रदेश सरकारले १० हजार खातामै जानेगरी सहयोग कार्यलाई अगाडि बढाएको उनको भनाइ छ। मन्त्री साहले संघीय सरकारले प्रदेश सरकारको व्यवस्था गर्ने गरेकाले पनि समस्या हुने गरेको बताएका थिए ।