मलेसिया जाने कामदारको अनिवार्य सोक्सो, ५ लाख श्रमिक लाभान्वित

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेसिया रोजगारीमा जाने नेपाली कामदार मलेसियाली सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) ‘सोक्सो’मा अनिवार्य दर्ता हुनुपर्ने भएको छ । मलेसिया सरकारले सन् २०२० देखि सोक्सोको कार्यक्रम लागू गरेको थियो । मलेसियाले यो कार्यक्रम सबै आप्रवासी कामदारका हकमा अनिवार्य रूपमा लागू गर्न घोषणा गरेको छ ।

यसका लागि नेपाललाई मलेसिया सरकारले सोक्सोको सम्झौता गर्न प्रस्तावसहित ड्राफ्ट पठाएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जानकारी दिएको छ । उक्त प्रस्तवालाई अध्ययन र छलफल गरेर सम्झौता गर्नका लागि मन्त्रिपरिषद्‌मा पठाएको बोर्डले जनाएको छ ।

मलेसियाली रोजगारदाता कम्पनीले आप्रवासी कामदारलाई अनिवार्य सोक्सोमा सूचीकृत गराउनुपर्ने छ । मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको मागपत्र आह्वान गर्दै रोजगारदाता कम्पनीले सोक्सोमा विवरण पठाउनुपर्ने ड्राफ्टमा उल्लेख रहेको बोर्डको भनाइ छ ।

सोक्सोमा मलेसियामा कार्यरत र नयाँ श्रम स्वीकृति लिएर जाने कामदारको पनि रोजगारदाता कम्पनीले विवरण पठाउनु पर्ने व्यवस्था रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘मलेसिया रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर जाने र त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउन आवश्यक छ,’ श्रेष्ठले भने, ‘यो नेपाल सरकारले पहल गर्नुपर्ने हो । तर मलेसियाले आफ्नो नीति तथा कार्यक्रममार्फत् पहल गरेपछि सजिलो भयो ।’

नेपाली श्रमिक रोजगारीका लागि जाने सबै रोजगारदाता गन्तव्य देशसँग सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सम्झौता गर्नुपर्ने उनको भनाइ छ । मलेसियाले सोक्सो सम्झौताका लागि पठाएको प्रस्तावपछि नेपालले आवश्यक सबै खाका तयार परेर पत्रमार्फत नै सम्झौता गर्ने उनले जानकारी दिए ।

सोक्सोमा आप्रवासी कामदार दर्ता गराएपछि रोजगारदाताले नै कामदारको मासिक आधारभूत पारिश्रमिकको १.६० प्रतिशत बराबर रकम सोक्सोमा जम्मा गर्नुपर्ने व्यवस्था छ । यो रकम रोजगारदाता कम्पनीले तिर्नुपर्छ । श्रमिकको पारिश्रमिकबाट कटाउन पाइने छैन ।

सोक्सो कोषमा दर्ता भएपछि नेपाली कामदारले अस्थायी तथा स्थायी अशक्तता सुविधा, स्वास्थ्य उपचार, आश्रित परिवार सुविधा, मृत्यु भएमा शव व्यवस्थापन सुविधा, अन्तिम संस्कारका लागि सोक्सोले खर्च व्यहोर्ने छ ।

सोक्सोका सुविधा

मलेसिया रोजगारीमा कार्यरत नेपाली कामदारको श्रम अवधिभित्रै मृत्यु हुँदा र नेपाल ल्याउन नसक्ने अवस्थामा उनीहरूलाई सोक्सोले अन्त्योष्टि गर्न २ हजार रिंगेट खर्च उपलब्ध गराउँछ । मलेसियामा मृत्यु भएमा मृतक कामदारका परिवारलाई ६ हजार ५ सय मलेसियन रिंगेट सोक्सोले उपलब्ध गारउने व्यवस्था छ ।

मृतक कामदारका हकवालाले २१ वर्ष ननाघेको अवस्थामा (आमाबुबा, छोराछोरी श्रीमान् र श्रीमती) लाई श्रमिकले पाइरहेको पारिश्रमिकको ९० प्रतिशत रकम मासिक रूपमा सोक्सोले उपलब्ध गराउँछ । मृतकका हकवालालाई यो सुविधा आजीवन पाउने व्यवस्था सोक्सोले दिएको छ ।

मलेसियासँग सम्झौता हुनुअघि नै त्यहाँ कार्यरत कामदारको रोजगारदाताले सोक्सोमा सूचीकृत गराउन प्रक्रिया थालेका छन् । मलेसिया सरकारले सन् २०१९ देखि सम्पूर्ण आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रम २०२० देखि लागू भएको हो ।

५ लाख कामदार सोक्सोबाट लाभान्वित

सोक्सोको सुविधा मलेसियामा कार्यरत ५ लाखभन्दा धेरै नेपाली कामदारले लिने बोर्डको अनुमान छ । हाल मलेसियामा ६ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । १ लाख नेपाली कामदार श्रम अवधि सकिए पनि स्वदेश नफर्की मलेसियामै रोजगारदाता कम्पनीमा शरण लिएर काम गरिरहेको बोर्डले जनाएको छ ।

सोक्सोको सुविधा श्रम स्वीकृति लिएर गएका कामदारले श्रम अवधिभित्र सूचीकृत भए मात्र पाउँछन् । अवैध कामदारले सोक्सोको सुविधा पाउँदैनन् । नेपालबाट नयाँ श्रम स्वीकृति लिएर जाने कामदारका हकमा भने अनिवार्य लागू हुन्छ र रोजगारदाता कम्पनीले कामदारको माग गरेपछि नै सोक्सोमा उनीहरूको विवरण दर्ता गराउनुपर्छ ।