हेलिकप्टर दुर्घटना अपडेट : जनरल बिपिन रावत जीवितै रहेको दावी, कस्तो छ उनको अवस्था ?

जागृति खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

भारतको तमिलनाडु राज्यको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चिफ अफ डिफेन्स स्टाफ रावत जीवितै रहेको समाचार सार्वजनिक भएको छ । हेलिकप्टरमा सीडीएस रावत, उनकी पत्नीसहित सेनाका उच्च अधिकारीहरु थिए । दुर्घटनापछि अहिले उद्धार अभियान चलाइएको छ । हेलिकप्टरमा १४ जना सवार भएको बताइएको छ ।

दुर्घटनास्थलबाट ४ शव बरामद गरिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । ७ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । अन्य तीन जनाको अवस्था अज्ञात छ । मृत्यु हुने, घाइते हुने र हराइरहेका को–को हुन् भन्ने विषयमा अहिलेसम्म सेनाले स्पष्ट जानकारी दिएको छैन । दुर्घटनाको कारण खराब मौसम हुन सक्ने प्रारम्भिक जाँचमा अनुमान गरिए पछि कारण स्पष्ट हुन सकेको छैन । सेनाको कार्ट अफ इन्क्वायरीपछि मात्र कारण स्पष्ट हुने बताइएको छ ।
दुर्घटनाको करिब १ घण्टापछि जनरल रावत जीवितै रहेको सूचना दिइएको भारतीइ अखबार दैनिक भास्करले जनाएको छ । जनरल रावतलाई वेलिंगटनको मिलिट्री अस्पतालमा लगिएको छ । उनको स्थिति कस्तो छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । केही रिपोर्टमा जनरल रावत गम्भीर रुपले घाइते भएको दावी गरिएको छ । उनलाई गम्भीर अवस्थामा उपचारको लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

भारतीय रक्षा प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ को मृत्यु

भारतको तमिलनाडु क्षेत्रमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ जनाको मृत्यु भएको छ। भारतीय सेनाका पूर्व प्रमुख तथा हालका रक्षा प्रमुख रहेका विपिन रावत सहित १४ जना सवार हेलिकप्टर आज दिउँसो दुघर्टनामा परेको थियो।

समाचार संस्था एएनआईका अनुसार हालसम्म १३ को मृत्यु भइसक्दा पनि रक्षा प्रमुखको अवस्थाको बारेमा केही जनाइएको छैन। सो विमानमा रावतकी श्रीमती र अन्य शीर्ष सैन्य अधिकारीहरु पनि थिए। घटनाको बारेमा भोलि मात्र संसदमा जानकारी दिइने भारतीय संचारमाध्यमको भनाइ छ।

केहीबेर अगाडि मात्र भारतीय रक्षामन्त्री राजना सिंह रक्षा प्रमुख रावतको घरमा गएको बीबीसीहिन्दीले जनाएको छ। भारतीय सेनाको एमआई–सिरिज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको हो।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको बताइएको छ। रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो।

जनरल विपिन रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पदमा थिए। उनले १ जनवरी २०२० मा चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका थिए।