ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण सुरू !

जागृति खबर संवाददाता

काठमाडौं ।

आजदेखि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्टका लागि आवदेन संकलन र वितरण गर्न सुरु भएको छ । यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) बाट ई-पासपोर्ट वितरण भइरहेकोमा अब ललितपुर जिल्ला प्रशासन कार्यालयबाट पनि सेवा प्रारम्भ भएको हो ।

राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार यही हप्ताभित्र काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट पनि विद्युतीय राहदानी वितरण सुरू गरिनेछ ।

‘उपत्यकापछि अन्य जिल्ला प्रशासन कार्यालयबाट पनि ई-पासपोर्ट वितरण सुरु गर्ने तयारीमा छौं,’ उनले भने । सेवाग्राहीको सहजताका लागि अब जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने योजना विभागले ल्याएको उनले बताए ।

गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेकाे छ । यसका लागि विभागले मंसिर १५ देखि एमआरपीका लागि टोकन वितरणसमेत बन्द गरिसकेकाे छ भने मंसिर २८ देखि पूर्णरूपमा एमआरपी वितरण बन्द गर्ने जनाएकाे छ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ ।

विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दुर्त सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै बाह्र हजार दस्तुर तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ ।

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा २० हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ ।