मलेसियाको रोजगारी रोकिए नेपालको श्रम बजारमा कस्तो असर?

जागृति खबर संवाददाता

काठमाडौं ।

नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्य देश हो मलेसिया। तर, पछिल्लो ८ महिनादेखि नेपाली कामदारहरुका लागि मलेसिया जाने ढोका बन्द छ। पटक–पटक भएका द्विपक्षीय छलफलका बावजुद पनि मलेसियामा नेपाली कामदार आपूर्ति कहिलेदेखि सुचारु हुन्छ भन्ने प्रश्न यथावत् नै छ।

‘मलेसियाको श्रम बजार कहिले खुल्छ?’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टमाथि केही महिनायता थुरिने प्रश्न हो यो। जवाफमा उनले ‘छलफल जारी छ, छिट्टै खुल्छ’ भनेर थुमथुम्याउने प्रयास गरिरहेका छन्।

दुई देशबीच श्रम सम्झौता भए पनि मलेसियाको रोजगारी खुल्ने विषय कहाँ अड्किएको छ त?

मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन नयाँ कानुन र संरचना निर्माण गरिरहेकाले मलेसियामा तत्काल कामदार आपूर्ति गर्ने अवस्था छैन। तर आफूहरुले सम्बन्धित निकायसँग बारम्बार रोजगारी खुलाउने विषयमा छलफल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयक सचिव महेशप्रसाद दाहाल दाबी गर्छन्।

श्रमिकसँग जोडिएका विषय भएकाले दुवै देशले सम्झौताका विषयमा पछिसम्म पनि कूटनीतिक समस्या नहोस् भनेर अध्ययन भइरहेको बताउँदै सचिव दाहालले भने, ‘रोजगारीसँग कामदारको स्वास्थ्य, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन/मापदण्ड लगायतका विषयलाई मध्यनजर गरेर काम गर्नुपर्छ। श्रम सम्झौतामा यस्ता विषय समेटिएका भए पनि कार्यान्वयनका लागि आवश्यक छलफल भइरहेको छ।’

नेपालबाट वार्षिक नयाँ श्रम स्वीकृति लिएर करिब १ लाख २० हजार कामदार रोजगारीका लागि मलेसिया जाने जाने गरेको सरकारी तथ्यांक छ। यदि अहिलेको जस्तै अवस्था रहेमा सरकारले वार्षिक १ लाख २० हजार कामदारलाई अन्य देश पठाउन वातावरण बनाउनुपर्छ। कि त नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। त्यसमाथि बर्सेनि आन्तरिक श्रम बजारमा सयौंको संख्यामा कामदारहरु थसिने क्रमसमेत बढ्दो छ।

मलेसियाली श्रम बजारमा नेपाली कामदार आपूर्ति बन्द भयो भने नेपालको आन्तरिक श्रम बजारमा बेरोजगारीको समस्या थप विकराल बन्ने निश्चित छ। अर्कोतर्फ भारतको बाटो हुँदै नेपाली युवा मलेसिया तस्करी हुने सम्भावना पनि रहन्छ।

देशभित्रै रोजगारीमैत्री वातावारण सिर्जना नभएसम्म देशको विकल्प खोज्ने बाहेक सरकारसँग अन्य सुविधा नभएको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताँउछन्। ‘सरकारले आन्तरिक श्रम बजारमा वार्षिक १ लाखभन्दा धेरै युवालाई तत्काल सामान्य रोजगारीसम्म पनि दिन सक्ने अवस्था छैन,’ पण्डित भन्छन्, ‘जसका कारण मलेसियाको रोजगारी बन्द भइरहे नेपालको श्रम बजारमा ठूलो झड्का लाग्न सक्छ। यो विषयमा सरकारले मनन गर्नुपर्छ।’

मलेसियाको रोजगार लामो समय बन्द गर्नु नेपाल सरकारका लागि नै दुर्भाग्यपूर्ण भएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाको मत छ। रोजगारदाता देशले एउटै देशको श्रमिकको बाटो लामो समय कुर्न नसक्ने उनको बुझाइ छ। यदि मलेसियाको रोजगारी समयमै खोल्नतर्फ श्रम मन्त्रालय गम्भीर नबन्ने हो भने देशभित्र रोजगारीका नाममा भयानक अवस्था आउने उनी बताउँछन्।

सरकारले हालसम्म मलेसिया जाने कामदार व्यवस्थापनका खातिर अन्य देश पठाउन र देशभित्रै रोजगारी दिलाउन आवश्यक वातावरणका लागि केही ठोस योजना बनाएको देखिँदैन। मलेसियाको रोजगारी अहिले कै जस्तो अवस्थामा रहिरहे युवाहरुलाई कामको खोजीमा भौँतारिने अवस्था आउन सक्छ।

सुरक्षा गार्डमा विकल्प खोज्न मलेसिया सरकारलाई दबाब
लामो समयसम्म मलेसियाको रोजगार रोकिनु निर्माणाधीन मलेसियाली सरकारको नीति नै रहेको विज्ञहरु बताउँछन्। मलेसियाको कानुन र गृह मन्त्रालयले विदेशी कामदारको सुरक्षा लगायत अन्य विषयमा एकद्वार नीति लागू गर्न नयाँ संरचना निर्माण गरिरहेको भन्दै विदेशी कामदार आपूर्ति बन्द गरेका हुन्।

नेपालका हकमा भने सुरुमा नेपाल सरकारले मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्ने संस्था खारेज गरी त्यहाँको रोजगारी बन्द गरेको थियो। पछि दुवै देशबीच सरकारीस्तरमै श्रम सम्झौता पनि भयो। तर सम्झौता भएको लामो समय बितिसक्दा पनि समस्या जहाँको तहीँ छ। यसबीचमा मलेसिया सरकारले नै विदेशी कामदार व्यवस्थापन सम्बन्धी एउटा कानुन र आवश्यक प्रविधिको विकास गर्ने भनेर विदेशी कामदार आपूर्तिमा रोक लगाएपछि नेपाली कामदारका लागि मलेसिया जाने कामदारका लागि बाटो बन्द भएको हो।

बायोमेट्रिक, भिएलएन, जिएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी रूपमा ठगी गरेको भन्दै सरकारले गत जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो।

नेपालबाट श्रम सम्झौतापश्चात् पनि कामदार आपूर्ति हुन नसकेको भन्दै मलेसियाली रोजगारदाताहरुले विशेषगरी नेपालको एकाधिकार रहेको सुरक्षा गार्डमा विकल्प खोज्न मलेसिया सरकारलाई दबाब दिइरहेका बताइएको छ।

मन्त्रालयले श्रम स्वीकृति बन्द गर्नुअघि मासिक करिब १० हजार युवा रोजगारीका लागि मलेसिया जाने गरेका थिए। मलेसियाली अर्थतन्त्रमा सुधार आई त्यहाँको मुद्रा ‘रिंगेट’को सटहीदरमा वृद्धि भएपछि पछिल्ला वर्षहरुमा नेपालमा मलेसियाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको थियो।

मलेसिया सुरक्षा गार्डलगायत अदक्ष नेपाली कामदार जाने प्रमुख रोजगार गन्तव्य मुलुक हो। नेपालसँग हावापानी मिल्ने मलेसियामा हाल करिब ६ लाख नेपाली कामदार रहेको सरकारी अनुमान छ।

नेपाली श्रमिकको विकल्प खोजिन सक्छ
मलेसिया सरकारले नेपालबाट श्रमिक आउने बाटो लामो समय अवरुद्ध भइरहे नेपाली श्रमिकको विकल्प खोज्न सक्छ।

मलेसियाको रोजगारी बन्द भएपछि गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा श्रम समझदारी भएको थियो। समझदारीअनुसार नेपाली कामदारलाई परेको सम्पूर्ण आर्थिक भार मलेसियाका रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने हुन्छ। श्रम समझदारी भएको २ महिना हुन लाग्दा पनि मलेसियाको रोजगारी नखुलेपछि रोजगारदाता कम्पनीहरुले मलेसिया सरकारलाई नेपाली कामदारको विकल्पमा अन्य मुलुकका कामदार लिन दबाब सिर्जना गर्न सक्ने अवस्था रहन सक्छ। जसका कारण नेपाली युवाको रोजगारी गुम्न सक्छ।

मलेसियाले एकतिर सुरक्षा गार्ड तथा अदक्ष कामदार नेपालबाट लिँदै आएको छ भने अर्कोतिर नेपाली कामदारभन्दा बाहेक पनि सुरक्षा गार्डमा विदेशी कामदारको प्रभुत्व विस्तार हुँदै जान थालेको छ। जसले नेपाली रोजगारीको ठूलो हिस्सामा विदेशी कामदारको प्रभाव बढ्ने निश्चित छ।

रोजगारीसँगै रेमिट्यान्स गुम्दै
नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा रोजगारी बन्द भएको ८ महिनामा १२ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स गुमेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ। संघका अनुसार मासिक १० हजार कामदार मलेसिया रोजगारीमा जाने गरेकोमा यो अवधिमा करिब ८० हजार भन्दा बढी नेपाली कामदारले रोजगारी गुमाएका छन्।

त्यस्तै, औसतमा मासिक ३० हजार रुपैयाँ कामदारले गर्ने बचत रकम गुमाएको संघको तथ्याङ्कमा उल्लेख छ। संघको भनाइअनुसार मलेसियाबाट मासिक करिब १ अर्ब ८० करोड रेमिट्यान्स नेपाल भित्रिँदै आएकोमा ८ महिनाको अवधिमा १२ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स गुमिसकेको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाले जानकारी दिए।

भन्तानाका अनुसार मलेसिया रोजगारी बन्द भएपछिको यो अवधिमा करिब ९ हजार ‘कलिङ’ भिसा प्राप्त युवाहरु रोजगारी खुल्ने प्रतिक्षामा छन्।