एमालेलाई पत्तासाफै पार्ने सल्लाह भइरहेको छ : माधव नेपाल

जागृति खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् ।

नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने सल्लाह भइरहेको अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’
आगामी हुने राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धनबाटै साझा उम्मेदवार हुने पनि अध्यक्ष नेपालले बताएका छन् । ‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौँ,’ उनले भने ।

यदि कसैले गठबन्धन टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने पनि अध्यक्ष नेपालले बताएका छन्। उनका अनुसार अर्घाखाँचीमा उपचुनाव नभई एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको छ ।

यसैगरी अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन सहमति जुटिसेकेको पनि उनले खुलासा गरेका छन् ।

संविधान कुल्चिएर दक्षिणपन्थी बाटोतिर अग्रसर एमाले अध्यक्ष केपी शर्मा ओलीको एमालेको भविष्य नरहेको पनि अध्यक्ष नेपालले बताए । साथै, एमालेको सूर्यमा ग्रहण लागिसकेको भन्दै त्यसले काम नगर्ने पनि अध्यक्ष नेपालले ठाकुवा गरे ।

आगामी चुनावमा माओवादी पहिलो दल हुने महराको दाबि !

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो दल हुने दाबि गरेका छन् ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उहाँले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु¥याउने महराले विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिए ।