मलेशियासहित खाडी मुलुक कामबाट निकालिएपछि अलपत्र परेका कामदार

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेशियाली ट्रेड यूनियन कङ्ग्रेसले २६ चैतमा विज्ञप्ति जारी गर्दै मलेशियाका कम्पनीहरूमा कार्यरत कामदारहरूमाथि अभद्र व्यवहार हुन थालेको भन्दै चिन्ता प्रकट गरेको छ। कोभिड–१९ को संक्रमणपछि कामदारलाई नाजायज रूपमा कामबाट निकालिएको, तलबविना काममा लगाइएको जस्ता व्यवहारहरू भएको विज्ञप्तिमा उल्लेख छ।

ट्रेड यूनियन कङ्ग्रेसका महासचिव जे सुलेमोनका अनुसार, मलेशियाका साना र मध्यम स्तरका कम्पनीमा काम गर्ने कामदार अप्ठ्यारोमा परेका छन्। कामदारहरूले केही महीनादेखि तलब नपाएको र बन्दाबन्दीका कारण यातायात नचल्दा घर फर्किन नपाएर बिजोग अवस्थामा बस्नुपरेको सुलेमोनले बताए।

ट्रेड यूनियन कङ्ग्रेसले अनुगमन गर्दा मलेशियाको ताइवान व्यापार केन्द्रस्थित एक पसलमा नेपाल, बाङ्लादेश र म्यानमारका कामदारहरु दयनीय अवस्थामा भेटिएका थिए (हे.तस्वीर)। उनीहरुले १८ मार्चदेखि कम्पनीबाट तलब नपाएको जनाइएको छ। ट्रेड यूनियन कङ्ग्रेसले श्रम सम्झौताका कागजातसहित कामदारको गुनासो मलेशियाको श्रम विभागमा दर्ता गरेको छ।

२१ चैतमा एम्नेष्टी इन्टरनेशनल नेपालले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशमा कोभिड–१९ को संक्रमणपछि भएको बन्दाबन्दीका कारण प्रवासी मजदूरको आधारभूत अधिकार प्रभावित भएको भन्दै उनीहरुको जीवनरक्षा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। एम्नेष्टीले आप्रवासी कामदारहरु कार्यरत मुलुकमै फसेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई भनेको छ।

मुलुकको अर्थतन्त्रको प्रमुख स्रोत रेमिटेन्स भित्र्याउन प्रवासी कामदारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको सुरक्षामा पनि सरकारले ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ क्वालालम्पुरस्थित नेपाली दूतावासले कामदारको हकहित र सुरक्षाबारे अनुगमन गर्न नसक्दा समस्या निम्तिएको बताउँछन्। उनी भन्छन्, “यस्तो असुरक्षाका बीच काम गर्दा एक नेपालीलाई भाइरसको संक्रमण भयो भने अन्य धेरै कामदार संक्रमित हुन्छन्। सुरक्षाका लागि तत्कालै पहल गर्नुपर्छ।