मैले एमालेको केन्द्रीय सदस्य छाडेँ : लालबाबु पण्डित

जागृति खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।

‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’ एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए ।

खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।

मोरङमा डा. शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डीभी भर्ने कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन् ।

भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् ।

पार्टीको १० महाधिवेशन स्थल चितजनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिताविरपरीत भएको आरोप लगाएका थिए ।

तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् ।

‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।