७ दशमलब ५ म्याग्निच्युडको भूकम्प

जागृति खबर संवाददाता

लिमा, १३ मंसिर ।

पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । त्यस्तै, भूकम्पमा कम्तिम १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् ।

भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ ।

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन् । भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ ।

प्रसूति व्यथा लागेपछि साइकलमा हुँइकिएर अस्पताल पुगिन् यी सांसद

प्रसूति व्यथा लागेका महिलाहरु सामान्यतया केही दिनदेखि अस्पतालमा भर्ना हुन्छन् । सुत्केरीपूर्व नै महिलाको स्वास्थ्य र पेटको वच्चाको अवस्था हेरेर प्रसूति वार्डमा उपचार हुन्छ । तर, न्युजिल्यान्डकी एक सांसद भने प्रसूति बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घन्टा नबित्दै उनले शिशु जन्माएकी छिन् । ‘सुत्केरी बेथा लागेको बेला साइकल चलाएर अस्पताल जाने मैले कुनै योजना गरेकी थिइन, तर त्यही भयो,’ ग्रीन पार्टीकी सांसद जुली एनी जेन्टरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।

पार्टीको यातायात मामिला प्रवक्तासमेत रहेकी उनी प्रसूति व्यथा लागेपछि साइकलमा चढेर अस्पताल गएको पहिलो पटक भने होइन । तीन वर्षअघि मन्त्री हुँदा पनि उनी गर्भवती भएकी थिइन् र सुत्केरी व्यथा लागेपछि साइकलमा नै अस्पताल हुइकिएकी थिइन् । अस्पतालको एउटा कार पार्कमा उनले पतिसँगको फोटो फेसबुकमा सेयर गरेकी छिन् ।

साइकल चढेर अस्पताल जाने निर्णयले आफूलाई कुनै लाज नलागेको उनले बताइन् । उनी साइकल अभियन्ता पनि हुन् । वातावरण स्वच्छ र सफा राख्न पेट्रोल तथा डिजेलमा चल्ने गाडीको सट्टा साइकल चलाउनु पर्ने उनको जोड छ ।

न्युजिल्यान्डमा यसअघि अन्य बहालवाला सांसदलाई सन्तान लाभ भएको थियो । सन् १९८३ मा एक जना सांसद दुधे बच्चा लिएर संसद भवन पुगेकी थिइन् । त्यस्तै, सन् २०१८ मा जसिन्डा आर्डनले प्रधानमन्त्री हुँदा नै बच्चा जन्माएकी थिइन् । उनले दुधे बच्चा बोकेर संसद भवनमा पनि पुगेकी थिइन् ।