भीम रावलले भरे उम्मेदवारी दरखास्त फारम

जागृति खबर संवाददाता

चितवन, १३ मंसिर ।

एमाले उपाध्यक्ष भीम रावलले उम्मेदवारी दरखास्त फारम भरेका छन् । उनले अध्यक्ष पदका लागि उम्मेदावरी दरखास्त फारम भरेर तयार पारेका हुन् ।

अब आयोगको सूचनाअनुसार उनले उम्मेदवारी दिने बताएका छन् । “मैल फर्म भरिसकेँ । अब आयोगको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्छु,” उनले भने ।

उनले आजको दिन खेर गएको पनि बताए ।

नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया भोलि (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आजै पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

आयोगले कार्यतालिका संशोधन पनि गरेको छ । भोलि राति ९ बजेबाट मतदान भई पर्सी ३ बजेसम्म जारी रहनेछ ।

निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आजै मनोनयन दर्ता गराउन सकेनन् । अब उनले भोलि मनोनयन दर्ता गराउनुपर्नेछ ।

अध्यक्षमा मनोनयन पत्र दाखिला गर्छु, ध्वनि मत स्वीकार्य छैन : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले केही बेरमा अध्यक्षमा मनोनयन पत्र दाखिला गर्ने बताए ।

अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनले जानकारी गराए । उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे ।

रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिए । ‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उनले भने ।