ओलीले राति पारेर धाँधली गर्न लागेको भीम रावलको आरोप

जागृति खबर संवाददाता

काठमाडौं, १३ मंसिर ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले दिनभर बैठक नगरेर एकैपटक साँझ ७ बजे बैठक गर्ने सूचना जारी गर्नुलाई धाँधलीको संकेत भनेका छन् ।

आज ट्वीट गर्दै रावलले ओलीले अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाए । उनले भने, ‘दिनभर बैठक नगरेर प्रतिनिधिहरुलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो ।’

ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिन लागेका रावलले प्रचारप्रसार गरिरहेका छन् । तर, उनलाई सहमतिमा ल्याउने प्रयास चलिरहेको छ । रावल ब्याक नभएर ध्वनी मतबाटै मतदानको तयारी समेत भएको छ ।

अध्यक्ष मण्डल बैठक : रावल र भुसाल सहमत नभए आन्तरिक चुनाव हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुन सक्ने देखिएको छ ।

मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखिराखेमा अध्यक्ष ओलीले आन्तरिक चुनावको घोषणा गर्नेछन् ।

अध्यक्ष मण्डलको बैठकमा सकेसम्म सहमति खोज्ने तर त्यहाँ सहमति नभए चुनावको घोषणा गर्नेछन् । ओलीनिकट नेताकाअनुसार अध्यक्ष मण्डलको बैठकमा यो विषयमा छलफलसमेत भएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिवको प्रस्ताव गरेका छन् । तर रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान लिइरहेका छन् ।

मण्डलको बैठक जारी छ ।