मलेसिया कामदार पठाउन खुला थाहा पाउनुहोस्

जागृति खबर संवाददाता

काठमाडौंः

मलेसिया कामदार पठाउन पुनः खुला भएको छ । अगस्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको हो । अब नेपालसहित १५ वटा मुलुकबाट त्यहाँ कामदार जान पाउनेछन् । झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो । यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो । रेमिटेन्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गरेको छ ।

मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा देशलाई स्रोत मुलकमा राखिएकामा बंगलादेश थपेर १५ वटा पुर्‍याइएको हो । बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मकरूपमा घाटा हुने भएको छ । विगतमा मलेसियाले बंगलादेश बन्द गरेकै कारण नेपाली कामदारले अधिक अवसर पाएका थिए । यसअघि बंगालादेशी कामदारले विभिन्न समस्या खडा गरेको भन्दै मलेसियाले लिन रोकेको थियो ।
मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ । यसअघि १४ वटा देशलाई स्रोत मुलकमा राखिएकामा यसपटक बंगलादेश थपेर १५ वटा पुर्‍याइएको हो । बंगलादेश खुला गरेपछि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाललाई भने तुलनात्मकरूपमा घाटा हुनेछ ।

मलेसियाले विदेशी कामदार लिन खुला गरेपछि नेपाली व्यवसायीले पनि पठाउने प्रक्रिया थाल्ने भएका छन् । निःशुल्क भिसा र टिकटमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न कठिन हुने व्यवसायीको भनाइ छ । बंगलादेशले मलेसियाका एजेन्सीहरूलाई प्रतिकामदार पाँच हजार रिंगेटसम्म कमिसन दिने गरेका छन् ।
बंगलादेशले टिकट र भिसाको पैसा पनि कामदारसँगै असुल्ने भएकाले मलेसिया खुले पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको व्यवसायीको दाबी छ । नेपालले निःशुल्क टिकट र भिसामा मात्र खाडी मुलुक र मलेसियामा कामदार पठाउन पाइने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले मलेसियाले बंगलादेशलाई समेत स्रोत मुलुकमा राखेकाले नेपालले प्रतिस्पर्धा गर्न निकै कठिन हुने बताए । ‘अगस्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गरेको छ । तर अहिलेको अवस्थामा पहिलाजसरी अपेक्षाकृत ढंगले कामदार पठाउन सकिने अवस्था छैन’, उनले भने ।

प्रतिस्पर्धा बढे पनि मलेसिया खुल्दा नेपालाई ठूलै राहत पुग्ने देखिन्छ । मलेसिया बन्द भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या २० प्रतिशतले ह्रास आइसकेको छ । खुला नभएको भए आगामी दिनमा थप समस्या निम्तिने प्रस्ट संकेत देखा परिसकेको थियो ।

मलेसियाले इन्डोनेसिया, म्यानमार, फिलिपिन्स, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्डलाई कामदार लिने स्रोत मुलुकमा राखेको छ । यसैगरी, म्यानमार, नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पनि स्रोत मुलुकमा परेका छन् । स्रोत मुलुकबाट मात्र विदेशी कामदार लिने मलेसियाको रणनीति छ ।

गैरकानुनी विदेशी कामदारको संख्या ह्वात्तै बढेपछि त्यसलाई व्यवस्थापन गर्न मलेसियाले केही लिन रोकेको थियो । नयाँ कामदार लिन बन्द गरेर अवैधलाई घर फिर्ती गराउने अभियान चलाइएको थियो । यसबीचमा थुप्रै अवैध नेपाली कामदार स्वदेश फिर्ता भइकेका छन् । मलेसियाले आफ्नो मुलुकमा २० लाखभन्दा बढी अवैध कामदार रहेको अनुमान गरेको छ । अवैध बस्ने नेपाली पनि अझै २० हजारभन्दा बढी रहेको अनुमान छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७२-७३ मा वैदेशिक रोजगारीमा जानको संख्या झन्डै एक लाख जनाले घटेको छ । संख्या बेस्सरी घट्दा यसको असर आगामी वर्षदेखि रेमिटेन्समा भारी गिरावट आउन देखिएको छ । रेमिटेन्स घट्दा त्यसले समग्र मुलुकको अर्थतन्त्रमा जोखिम पैदा गर्ने अवस्था आउँछ । पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रमा रेमिटेन्सको हिस्सा करिब ३० प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा रमेटेन्स आयको वृद्धिदर खुम्चिएको छ । अघिल्लो आव २०७१-७२ मा रेमिटेन्स वृद्धिदर १२.४ प्रतिशत रहेकामा आव २०७२-७३ मा वृद्धि दर जम्मा ८.६ प्रतिशतमात्र छ । भर्खरै सकिएको आर्थिक वर्षको ११ महिनामा कुल पाँख खर्ब ९८ अर्ब ९५ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकको अध्ययनले पनि आगामी वर्षदेखि रेमिटेन्स वृद्धिर खुम्चिने देखाएको छ । वैदेशिक रोजगारीमा ४३ लाखभन्दा बढी नेपाली सरकारको अनुमति लिएर गइसकेका छन् ।

वैदेशिक रोजगारीमा जाने घट्दा आन्तरिक रोजगारीको बजारमा पनि बेस्सरी चाप छ । वार्षिक श्रम बजारमा पाँच लाख युवा आउँछन् । तर आन्तरिक बजारमा मुस्किलले ५० हजार जनाले नयाँ कामको अवसर पाउन सक्छन् । बाँकी जनशक्तिलाई काम दिने कुनै पनि योजना सरकारसँग छैन । सरकारले नयाँ रोजगारी गन्तव्य खोजी पनि गर्न सकेको छैन ।

खाडी र मलेसिया जाने कामदारको संख्यामा कमी आउँदा त्यसको सम्रग असर वैदेशिक रोजगारीमा देखिएको हो । मलेसियामा जाने कामदार घट्दा हामीलाई सबैभन्दा बढी असर पर्छ । वार्षिक ६ खर्ब हाराहारीमा रेमिटेन्स आउने गरेकमा मलेसियाको मात्रै ३० देखि ४० प्रतिशतको योगदान रहने गरेको छ । हाल मलेसियामा मात्रै करिब आठ लाख नेपालीले काम गरिरहेका छन् ।