महाधिवेशन भनेको के हो ?

जागृति खबर संवाददाता

काठमाडौं ।

मिल्ने भए यो देशलाई महाधिवेशन नै महाधिवेशनको देश भन्न सकिने थियो । असरल्ल पछिल्ला महाधिवेशनहरुका शृंखलाहरु ८ हजार मिटर उचाइका १४ हिम शृंखलाहरु बिर्साउन सफल छन् ।नेपालीहरुको साझा स्वभाव छ- तिनीहरु विश्वको जुनसुकै कुनामा पुगून्, संगठन बनाइहाल्छन् ।

मिल्ने भए यो देशलाई महाधिवेशन नै महाधिवेशनको देश भन्न सकिने थियो । असरल्ल पछिल्ला महाधिवेशनहरुका शृंखलाहरु ८ हजार मिटर उचाइका १४ हिम शृंखलाहरु बिर्साउन सफल छन् ।

नेपालीहरुको साझा स्वभाव छ- तिनीहरु विश्वको जुनसुकै कुनामा पुगून्, संगठन बनाइहाल्छन् ।

चार वर्षयता भारतको नयाँ दिल्ली र कोलकाता पुग्दा नेपालीका नाममा एउटै सहरमा सयभन्दा बढी संगठन रहेको बुझेपछि मेरो मन गर्वले ढक्क फूलेको थियो । नेपालीहरु फुटेको फुट्यै गर्दा पनि संगठन गर्न छाड्दैनन् । संगठन भएपछि महाधिवेशन हुन्छ । महाधिवेशनपछि फुट । फुटपछि फेरि अर्को संगठन । फेरि फुट, फेरि संगठन । नेपाली चुपचाप, एक्लै बस्ने जात होइन ।

नेपालीहरु तीन प्रकारका महाधिवेशन गर्छन् ।

एक, हुनुअघि नहुने । त्यो राप्रपाको महाधिवेशन हो, जुन जहिले पनि घोषणा हुन्छ, अनि इलेभेन्थ आवरमा रोकिन्छ ।दुई, हुँदाहुँदै नहुने । त्यो नेविसंघको महाधिवशेन हो, जुन बन्दसत्र चल्दाचल्दै अकस्मात् घोषणा हुन्छ । (यसपल्ट पनि के हुने हो, आशंकाकै घेरामा छ ।)

तीन, भइसकेर नहुने । त्यो माओवादीको महाधिवेशन हो ।

चर्चामा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशन छ । राप्रपाको महाधिवेशन त झन् चर्चामा छ । यीबाहेक अरु पनि केही महाधिवेशन छन्, जसको बारेमा बुँदागत चर्चा गरिनेछ :

१) नेविसंघ महाधिवेशन
बरु माउपार्टी कांग्रेसको महाधिवेशन गर्न सजिलो होला । नेविसंघको महाधिवेशन गर्न सजिलो छैन । यो देशमा कस्ता कस्ता जनताका सवालमा अनशन हुन्छ- नेविसंघका साथीहरु महाधिवेशन गराइपाउ भनेर भोकै बस्छन् । र, नेताहरु अनशनकारीका जस्तासुकै माग सम्बोधन गर्न तयार छन्, महाधिवेशन बाहेक ।

यसको सबैभन्दा ठूलो उदाहरण सभापति शेरबहादुर देउवा छन् । नेविसंघका पहिलो निर्वाचित सभापति उनी यसबीच कांग्रेसकै महाधिवेशन सफलतापूर्वक गराए, तर नेविसंघका भाइबहिनीलाई फुल्याउन नसकेर हैरान छन् ।

‘रामचन्द्रजी निर्णय गर्दैनन्, म गर्छु’ भनेर अस्तिमात्रै चुनाव जितेका उनी आफ्नै दलमा उपसभापतिलगायत पदाधिकारी निर्णय गर्न नसकेर भागरेभाग छन् । नेविसंघको त कुरै बेग्लै । ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, विद्यार्थी एकता’ नेविसंघका आदर्श हुन् । तर व्यवहारमा कुनै त्यस्तो महाधिवेशन छैन, जहा ‘प्रजातन्त्र, विद्यार्थी एकता’को झल्को देखियोस् । त्यसैले होला, एउटा र अर्को महाधिवेशनबीच आधा दर्जनजति अरु अध्यक्ष सभापतिको टीका लगाएर बन्छन् । अनि शान्तिपूर्ण प्रतिष्पर्धाको ठाउँ सधैं हतियारले लिन्छ । कुनै महाधिवेशन छैनन्, जो शान्त सकिएका होउन् । तुलमा बीपीको भनाई चुपचाप झुन्डिरहन्छ- शैक्षिक संस्था बाहुबल होइन, विचारको प्रतिष्पर्धा गर्ने ठाउ हो ।

इतिहास यस्तै छ । चितवन महाधिवेशनमा परालका माचमा खुँडा खुकुरी भेटिए । पोखरा महाधिवेशन हुदाहुदै समूहगत भालेजुधाईका कारण दीपेन्द्र सभागृहको सत्यानाश भयो । काठमाडौंमा आज मंगलबार दिनभरिसम्म भए गरेका ठोकठाक कार्यक्रम, अनि कार्यकर्ताभन्दा बढी सुरक्षाकर्मी परिचालन हेर्दा लाग्छ, नयाँ गृहमन्त्री विमलेन्द्र निधिले महाधिवेशन शान्तिपूर्वक गराए भने त्यही नै उनको कार्यकालको सफल परीक्षण हुनेछ । भृकुटीमण्डपमा पुलिस धेरै छन्, कहीँ कहीँ विद्यार्थी पनि ।

२) राप्रपा महाधिवेशन
संगठन कसरी बनाउने, अनि भत्काउने- कसैले राप्रपाबाट सिकोस । निर्माण र ध्वंशको यो विछट्ट कलामा पूर्वपन्चहरुले कम्युनिस्टलाई राम्रै स्कोरसहित उछिन्छन् । यिनका कुनै कार्यदिशा, विचारधारा, कार्यभार हुदैनन् । बदलिएको परिस्थितिमा ‘चिजलाई कसरी बुझ्ने’, को लेठो यिनीहरु गर्दैनन् । लडाइँ जुगाको हो, कम्युनिस्टभन्दा यिनीहरु के मानेमा सफा छन् भने यिनीहरु त्यो कुरा लुकाउँदैनन् । पार्टी यसपालि चाहिँ जुट्न के लागेको थियो, फ्याट्ट दीपक बोहरा र विक्रम पाण्डे दौरासुरुवाल लगाएर प्रचण्डकहाँ गए । भोलिदेखि हुने भनिएको महाधिवेशन गोलमाल भयो । कमल थापाले त सहकार्यको अध्याय अन्त्य भएको घोषणै गरे ।

पार्टी सानो-सानो चिटिक्कको छ, तर आकांक्षा ठूला-ठूला छन्- राप्रपा चलाउने कुलीन काजीहरुका । राजा फर्काउने ध्याउन्न विभाजित छ, तर हिन्दू गणतन्त्र बनाउने एजेन्डा अघि सारेका छन । यत्रा रणनीतिक महत्वका योजना पास गर्न महाधिवेशन बोलाएको, दुई मन्त्रीको लफडामा परेर कुरो सिद्दियो । नसिद्दियोस् पनि कसरी, भर्खरैको प्रधानमनत्री चुनावमा पशुपति शमशेर जबरावाला राप्रपा प्रचण्डलाई भोट हाल्न गयो, कमल थापा विपक्षमा गए । नगरौं भन्दाभन्दै कुरो कार्यदिशाको पर्‍यो ।

कम्युनिस्टको प्रेरणा यिनमा सर्‍यो कि, यिनको कम्युनिस्टमा ! कसैले भनिदेओस् । फरक एउटा छ, कम्युनिस्ट बनेपछि फुट्छन् । अनि एकताको महाधिवेशन गर्छन् । राप्रपावालाहरु चाहि बन्नुअघि नै फुट्छन् । महाधिवेशनको टन्टै लिन परेन । महाधिवेशन नभएपछि खर्च पनि बच्यो ।

३) माओवादी महाधिवेशन
केही वर्षअघिसम्म नेपालको गतिविधि हेर्दा लाग्थ्यो- कम्युनिस्ट भनेकै माओवादी । जस्तो कि, चिसो भनेकै कोकाकोला । अहिले त माओवादीको खुट्टी पनि थाहा भइहाल्यो, जनतालाई । अनि, नया नेपाल बनाउने माओवादीका नारा कस्ता ? ‘संसारका मजदूर एक हौं’ भन्ने माओवादी फुटेर १० टुक्रा भयो । जेठ ६ गते बबरमहलमा १० माओवादी घटकको एकता प्रचण्डले गराएवापत् नै थाहा हुन्छ । १० टुक्रामा फुटेका रहेछन् ।

चार वर्षअघि हेटौंडा महाधिवेशन गरेका प्रचण्ड, बाबुरामहरु फेरि कार्यदिशा, कार्यभार कि केमा नमिलेर हो (कम्युनिस्टका शब्द बुझ्न प्रचण्डले प्रधानमन्त्री कार्यालयमा राखेका शब्दकोश काफी छैनन्) एक वर्ष पनि नकाट्दै विराटनगरमा त्यसैको अर्को महाधिवेशन गर्नुपर्‍यो ।

अब पुस २३ गते एकताको महाधिवेशन गर्छु भनेको छ, माओवादीले । तर त्यो पनि प्रधानमन्त्रीमा प्रचण्ड चुनिएपछि सर्ने पक्कापक्की छ । अध्यक्ष नै प्रधानमन्त्री भएका बेला कार्यदिशाबारे सोच्न भ्याइन्न रे, आज एक ठूला माओवादी बोसले भनेका । बाहिर-बाहिर कार्यदिशा, भित्र पद र पैसा : पार्टी फुटाउने, महाधिवेशन गराउने, नगराउने कारण आखिर यी न हुन् ।

अरु साना दलका कुरै नगरम् । गतिविधि हेर्दा यस्तो लाग्छ- महाधिवेशन भनेको के हो, तिनले थाहा पाउने बाँकी छ ।

यति कुरो बुझिसकेपछि, भएन त अब नेपाल महाधिवेशनको देश ?