कांग्रेसको प्रारम्भिक परिणाम : देउवा ३५ प्रतिशतमा खुम्चिए, पौडेल पक्षको ६० प्रतिशत

रामेछाप खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा भएको क्षेत्रीय अधिवेशनको प्रारम्भिक परिणाममा संस्थापन पक्ष निकै कमजोर देखिएको छ । धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति शेरबहादुर देउवाविरुद्ध संगठित संस्थापन इतर पक्षको बहुमत देखिएको छ ।

काठमाडौंका अधिकांश क्षेत्रमा संस्थापन पक्षले हार व्यहोरेको छ । संस्थापन इतर समूहका नेताहरु प्रकाशमान सिंह र गगन थापाको प्रभाव क्षेत्र रहेको काठमाडौंका १० क्षेत्रबाट कम्तीमा २ सय ५० महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । परिणाम आएको काठमाडौं क्षेत्र नम्बर ७ मा संस्थापन इतर पक्षले क्लीन स्वीप गर्दा देउवा पक्ष नील भएको छ । अन्य क्षेत्रमा पनि देउवा पक्षका महाधिवेशन प्रतिनिधि नगण्य मात्रामा आएका छन् ।

ललितपुरमा संस्थापन पक्षकै नेताहरु उदय शमशेर राणा र मदन अमात्यको आन्तरिक लडाइँको फाइदा संस्थापन इतर समूहले लिएको छ । कास्कीमा पनि संस्थान पक्षको हालत खराब देखिएको छ । प्रारम्भिक नतिजा अनुसार चितवनमा संस्थापन इतर पक्षले दुइ तिहाईभन्दा बढी महाधिवेशन प्रतिनिधि जितेको छ । धादिङमा सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा पनि पौडेल पक्षले प्यानलै जितेको छ । सोही नतिजा अनुसार धादिङमा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अग्रता हुने देखिन्छ ।

प्रदेश नम्बर १ का अधिकांश जिल्लामा संस्थापन इतर पक्ष हावी देखिन्छ । त्यहाँ डा.शेखर कोइरालाको प्रभाव राम्रो देखिएको छ । दोस्रोमा कृष्णप्रसाद सिटौला नेतृत्वको समूह हुँदा तेस्रोमा देउवा पक्ष देखिन्छ । भोजपुरमा जिल्ला सभापतिमै पौडेल पक्षका विनोद वान्तवा विजयी भएका छन् ।

प्रदेश २ मा क्षेत्रीय अधिवेशनहरु सुरु भइसकेका छैनन् । यद्यपि त्यहाँ देउवाको अवस्था खस्किएको छ । उपसभापति विमलेन्द्र निधिले साथ छोडेपछि देउवा पक्ष कमजोर भएको हो । प्रदेश २ कोइरालाहरुको पकड क्षेत्र मानिन्छ । सो प्रदेशमा निधिको प्रभाव पहिलो , कोइरालाहरुको दोस्रो र देउवाको स्थान तेस्रो हुने देखिन्छ ।

बागमती प्रदेशमा पनि संस्थापन इतर पक्षले आफ्नो मत सुधार गरेको छ । बागमती प्रदेशमा काठमाडौंको मतले मात्रै पनि देउवा पक्ष हराउन पुग्ने संस्थापन इतर पक्षको आँकलन छ ।

गण्डकी प्रदेश वरिष्ठ नेता पौडेल र महामन्त्री डा.शशांक कोइरालाको प्रभाव क्षेत्र हो । लुम्बिनी प्रदेशमा गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीदेखि स्व.खुमबहादुर खड्काको गृहजिल्ला दाङमा समेत संस्थापन इतर पक्षले बहुमत प्रतिनिधि जित्ने देखिएको छ । क्षेत्रीय अधिवेशनको प्रारम्भिक नतिजामा विगतमा कमजोर भनिएको कर्णाली र सुदुरपश्चिममा पनि पौडेल पक्षले निकै सुधार गरेको छ ।

देशभरको अधिवेशनको प्रारम्भिक तथ्यांक हेर्दा सभापति देउवासँग ३० देखि ३५ प्रतिशत मात्रै मत रहने देखिएको छ । वरिष्ठ नेता पौडेल , महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला नेतृत्वको समूहले झण्डै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि जित्ने देखिएको छ । तेस्रो धार भनिने कृष्ण सिटौला समेत जोड्दा संस्थापन इतर पक्षले झण्डै ६० प्रतिशत मत पुर्याउने देखिन्छ । उपसभापति विमलेन्द्र निधिले पनि देउवा समूहको पर्याप्त मत काट्ने देखिन्छ ।