अब देखि विद्यालयले कुनै पनि फी लिन नपाउने अदालतले नै जारी गर्यो आदेश.

जागृति खबर संवाददाता

७ मंसिर, सुर्खेत ।

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियम विपरीत शुल्कमा रोक लगाएको छ ।

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियम विपरीत लिने गरिएका शुल्कलाई आगामी शैक्षिक सत्रदेखि नलिन हिजो (बिहीबार) विपक्षीका नाममा परमादेश जारी गरेको हो ।

सरकारी अनुदानमा सञ्चालित विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क लिने कार्य नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त मौलिक हकको विपरीत भएकाले रोक्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले भनेको छ, ‘हालसम्म जे–जुनरूपमा शुल्क लिने गरिएता पनि आगामी शैक्षिक सत्रदेखि कानुन विपरीत कुनै पनि शुल्क नलिनू ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जननमूना माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो बढेपछि अधिवक्ता खगेन्द्र खनालले यही साउन १० गते उच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमा विद्यार्थी भर्नाका समयमा बैङ्क खातामा पैसा जम्मा गर्न लगाउने र उक्त भौचर लिएपछि मात्र भर्ना गर्ने कार्यले निःशुल्क शिक्षासम्बन्धी हकको हनन भई संविधानको भावना विपरीतको कार्य भएकाले रोक्न माग गरिएको थियो ।

देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, शतप्रतिशत मत भने पाएनन्

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल सात सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। उनका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा आठ सय ४६ मत खसेको थियो। देउवाले शतप्रतिशत मत भने पाएनन्।

महाधिवेशन प्रतिनिधिको खुलातर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुवर भट्ट र सुरेशराज जोशी विजयी भएका छन्।

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन भएकी छन्। खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भए। सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्नराज भट्ट निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन्।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत भएका छन्।

समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपांगता अल्पसंख्यकतर्फ जयप्रकाश भट्ट सर्वसम्मत चयन भएकाे केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिए।