नयाँ नियम : विदेशबाट यी सामानहरु ल्याउँदै हुनुहुन्छ ? जफत होला है !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

विदेशबाट नेपाल फर्कंदा केहि मात्रामा सुन ल्याउन पाउने नीति धेरैलाई थाहा छ तर यसको बिषयमा स्पष्ट भने थाहा नहुन सक्छ ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो ।

पछिल्लो नियम अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले ५० ग्रामसम्मका सुनका गहना लगाएर आउँदा कुनै शुल्क तिर्नुपर्दैन तर ५० ग्रामभन्दा बढी १०० ग्रामसम्मका सुनका गहनामा भने प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

जस्तोकि:

यदी तपाइँले ५० ग्रामसम्मको सुनको गहना ल्याउनु भएको छ भने कुनै शुल्क तिर्नुपरेन तर ६० ग्राम ल्याउनुभएको छ भने ५० ग्रामसम्म निशुल्क भएपनि थप १० ग्रामको रु. ८५००/- शुल्क तिर्नुपर्ने हुन्छ । यही दरले ७० ग्रामको १७,०००/-, ८० ग्रामको २५,५००/-, ९० ग्रामको ३४,०००/- र १०० ग्रामको ४२,५००/- तिर्नुपर्ने हुन्छ ।

अब यो भन्दा बढी अर्को १०० ग्रामसम्मको परिमाणमा सुन ल्याउनु भएमा जति बढी ल्याउनु भएको छ, प्रति १० ग्रामको १०/१० हजार थप तिर्नुपर्ने हुन्छ । तर त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्नेछ ।

यदी विदेशबाट सुन ल्याउँदा व्यापारिक प्रायोजनको लागि सुन ल्याउने हो भने प्रति १० ग्राम सुनमा ६ हजार ५ सय तोकिएको छ ।

काँचो सुन ल्याउने नियम:

विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ । त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ ।

जस्तोकि:

यदी तपाइँले ५० ग्रामसम्मको काँचो सुनको विष्कुट ल्याउनु भएको छ भने प्रति १० ग्राम ७५००/- को दरले ५० ग्रामको ३७५००/- तिर्नुपर्ने हुन्छ । त्यस्तै ५० ग्राम भन्दा बढी १०० ग्रामसम्म काँचो सुन ल्याउनुहुन्छ भने हरेक १० ग्राममा ८५०० को दरले महशुल तिर्नुपर्ने हुन्छ ।

यसरी हिसाव गर्दा तपाइले कुल १०० ग्राम काँचो सुन ल्याउनु भएमा कुल रु. ८०,०००/- महशुल तिर्नुपर्ने हुन्छ । तर १०० ग्राम भन्दा बढी काँचो सुन ल्याउनु भएमा भने सरकारले जफत गर्नेछ । यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा प्रति १० ग्राम ७५ रुपैयाँ तिर्नु पर्छ ।