साउदी हुनेले हेरौं : साउदी सरकारले ल्यायो भिसा सम्बन्धी यस्तो कडा नियम

जागृति खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट पारेको छ ।

साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको अवस्थालाई पूर्ण रुपमा मान्यता नदिईने स्पष्ट पारेको हो ।

साउदी गजेटका अनुसार त्यसरी साउदी अरबबाट बाहिरिएकाहरु भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन बर्षको बन्देज लाग्नेछ । तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भनें त्यस्ता विदेशीलाई बन्देज लाग्ने छैन ।

घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासिय अनुमति तथा भिसा स्वत: खारेज हुने पनि समाचारमा जनाइएको छ ।

मलेसिया रोजगारीको बाटो खुल्यो, लागेन शून्य लागतको टुंगो

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाको रोजगारीको बाटो खुला भएको छ।

सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्। बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मलेसिया रोजगारीको बाटो पुन: रोकिएको थियो।

हाल मलेसियाले विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालीका लागिसमेत बाटो खुला भएको हो।

काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको छ। मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ। मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ।

वैधानिक भिसा भई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका व्यक्ति मलेसिया जान पाउनेछन्।

मलेसिया प्रवेशका लागि पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टसमेत अनिवार्य गरिएको छ। मलेसिया पुगेपछि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरिएको छ।

मलेसिया रोजगारीको बाटो खुला भए पनि कामदार शून्य लागतमा जान पाउने टुंगो भने लाग्न सकेको छैन। यसबारे कुनै पनि आधिकारिक जानकारी नआएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डण्डुराज घिमिरेले बताए।