बेलायतले नेपालसँग माग्यो १० हजार नर्स, तलव साढे २ लाख हुने

रामेछाप खबर संवाददाता

लण्डन ।

नेपालबाट बेलायतमा रोजगारीको लागि १० हजार नर्सहरु आउने भएका छन् । नेपालस्थित श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स बेलायत पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ। वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा नर्स पठाउने प्रकृया थालिएको बताए ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए। ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं। यसमा छिट्टै नै काम हुन्छ,’ सचिव गौतमले भने। श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए। ‘हामी बेलायत जस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरिरहेका छौं। त्यस्ता मुलुकमा हामी श्रम सम्झौता गरेर श्रमिक पठाउँछौं,’ उनले भने।

सम्झौता भइसकेका मुलुकहरुको पनि पुनरावलोकन गरिने उनले बताए। नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता भए सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेपनि नेपालले प्रकृया अघि नबढाउँदा पठाउन सकिएको थिएन । पछिल्लोपटक नेपालमा ६० हजार नर्स अध्ययन सकेर सेवाका लागि तयारी अवस्थामा बसेका छन् । बेलायतले अनुभव भएका नर्स नेपालबाट यहाँ लैजान चाहेको छ । मासिक २ लाख ५० हजार बराबरको तलव सुविधा हुने गरी नेपाली नर्सहरु बेलायत आउने भएका हुन् ।